नयाँ दिल्ली । एकता कपुरको आगामी चलचित्रबाट बलिउड अभिनेत्री श्रद्धा कपुर बाहिरिएको खबर आएको छ । राही अनिल बर्वेले निर्देशन गर्न लागेको यो चलचित्रका लागि श्रद्धाले १७ करोड भारु र नाफामा हिस्सासमेत मागेको खबर आएको थियो । यसमा कुरो नमिलेपछि श्रद्धाले यो चलचित्र छोडेको बताइएको छ ।
‘स्त्री–२’ हिट भएपछि फ्यानहरू श्रद्धाको अर्को चलचित्रको व्यग्र प्रतीक्षामा छन् । केही समयअघि अभिनेत्री निर्देशक राही अनिल बर्वेको चलचित्रमा उनी देखिन सक्ने खबर आएको थियो । यो चलचित्र एकता कपुरले निर्माण गर्दै थिइन् । अब भने श्रद्धाले यो चलचित्र नगर्ने भएकी हुन् । यसको मुख्यकारण पैसामा देखिएको विवाद मानिएको छ । पिपिङमुनको समाचारअनुसार श्रद्धा अब यो चलचित्रमा हुने छैनन् । श्रद्धाले आफूसँग निकै बढी पैसा मागेको र महिलाको मुख्य भूमिका भएको चलचित्रमा यति धेरै पारिश्रमिक दिनु आफूलाई ठीक नलागेको एकताले बताएकी समाचारहरू बाहिरिएका थिए । श्रद्धाले मागेको पैसा दिए चलचित्रको बजेट बढ्नेसमेत उनले बताएकी थिइन् ।
श्रद्धा चलचित्रबाट बाहिरिएपछि निर्माताहरूले अर्की स्टार अभिनेत्रीसँग चलचित्रका लागि कुरा गरिरहेका छन् । निर्माताहरूले पहिल्यै एक चर्चित अभिनेत्रीसँग कुरा गरिरहेको खबर पनि आएको छ । यता श्रद्धाको हातमा भने यतिवेला ‘स्त्री–३’ छ । जुन चलचित्र सन् २०२७ को अगस्ट १३ मा रिलिज हुने भनिएको छ । चलचित्रको दोस्रो भागमा श्रद्धाको साथमा राजकुमार राव, अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बनर्जी जस्ता कलाकारहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । चलचित्रले बक्स अफिसमा निकै राम्रो प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया