रुकुमपश्चिमको ऐतिहासिक, धार्मिक र प्राकृतिक गहना गोतामकोट

त्रिदेशीय रूपमा निर्माण रहेको भेरीकरिडोरको काखैमा अवस्थित रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–४ र ५ मा पर्ने गोतामकोट प्रमुख पर्यटकीयस्थल मध्ये एक हो । नेपालका लुकेका रत्नहरूमध्ये एक हो यो स्थान । इतिहास, धर्म, संस्कृति, प्रकृति र आधुनिक विकासको संगम भएको यो ठाउँ एकपटक पुगेपछि जो–कोहीलाई मोहित बनाउँछ ।

प्राकृतिक रूपले भरिपूर्ण यस स्थान गौतम (गोतामे) हरूको मुख्य बासस्थान भएकाले यसलाई गोतामकोट भन्ने गरेको बुढापाकाहरूको भनाइ छ । गोतामकोटलाई गौतम थरको मूल थलो मानिन्छ । यहाँको इतिहास ७०० वर्षभन्दा पुरानो रहेको जनश्रुति पाइन्छ । कथनअनुसार, बोकसे नामक अत्याचारी शासकलाई जुम्लाका राजा पिथैवम्मले पराजित गरी यो ठाउँ विर्ता स्वरूप गौतम उपाधि प्राप्त समुदायलाई दिएका थिए । त्यसैबेलादेखि यहाँ गौतमहरूको बसोबास सुरु भएको मानिन्छ । पछि आएर यसलाई गोतामकोट भन्न थालिएको इतिहासकार बताउँछन् ।

धार्मिक र सांस्कृतिक रूपमा पनि उतिकै महत्व मानिन्छ यस स्थान । गोतामकोटमा अत्रि ऋषिको आश्रम रहेको छ, जसलाई गौतम गोत्रसँग प्रत्यक्ष सम्बन्धित धार्मिक स्थल मानिन्छ । मालिका मन्दिर यहाँको अर्को आकर्षक शक्तिपीठ हो, जहाँ विशेषतः पूर्णिमाका दिनहरूमा ठूलो मेला लाग्दछ । त्यस्तै ओलीहरूको चित्रलेखी, चित्रिपाटन यी धार्मिक स्थलहरू सांस्कृतिक पर्यटकहरूका लागि पनि चासोको विषय बनेका छन् । यहाँको गाउँमा प्रचलित सोरठी, मयुर, पैंसुरु, टप्पा, सिंगारु र ठाडीभाका जस्ता मौलिक नाचगानहरूले यहाँको सांस्कृतिक गहिराइ झल्काउँछ । समुन्द्री सतहदेखि ४ हजार ९०० मिटर सम्मको उचाइमा रहेको गोतामकोट आफैँमा सुन्दरताको खानी छ ।

प्राकृतिक सौन्दर्यबाट मोहित बनाउने गोतामकोटले अतुलनीय प्राकृतिक दृश्यहरू अँगालेको छ । चित्रिपाटनबाट झर्ने ९ वटा झरना, भेरी नदीको नागबेली धार, हरियाली फाँटहरू, ढुंगाले छाएका परम्परागत घरहरू– यी सबैले गाउँलाई एक स्वप्नलोकजस्तो बनाएका छन् । यहाँबाट देखिने हिमशृंखला, जंगलको हरियाली र शान्त वातावरणले पर्यटकको मन जित्छ । पछिल्लो समय पूर्वाधार विकासले पनि गोतामकोट अगाडी नै छ । राप्ती राजमार्गअन्तर्गत सडक कालोपत्रे भइरहेको छ । खानेपानी, स्वास्थ्य शिक्षामा उत्तिकै अब्बल छ । गोतामकोटमा विभिन्न जातजातिको बसोबास छ, गौतम, बिष्ट क्षेत्री, मगर, ठकुरी, दलित आदि जातजातिको बसोबास रहेकाले सबैले आपसी सम्मानका साथ जीवनयापन गर्छन् । छुवाछुतजस्ता परम्परागत कुरितिहरू यहाँबाट हटिसकेको छ । स्थानीय सामाजिक संरचना समानता र सहकार्यमा आधारित छ, जुन नेपालकै नमुना समाजमध्ये पर्न सक्छ ।

कृषि र पर्यटन सम्भावना

गोतामकोटलाई कृषि–पर्यटन केन्द्रको रूपमा विकास गर्ने योजना अघि बढाउने हो भने यहाँ स्थापना गरिएको फलफूलको हाइटेक नर्सरी, गैरीपातलका स्याउ, सुन्तला र किवीका बगैँचाहरू र आधुनिक पशुपालन प्रणालीले स्थानीय आर्थिक उन्नतिमा पु¥याउने छ । सँगसगै स्थानीय रैथाने बालिलाई प्रोत्सहान गर्नसके कृषिमा थप आयाम बढ्ने छ । वातावरणीय अनुकूलता र स्वच्छ हावापानीमा उत्पादित कृषि उपजलाई सही तरिकाले बजारीकरण गर्ने हो भने कृषिसँगै पर्यटनको विकास हुन सक्छ । त्यस्तै होमस्टे सेवा विस्तार गर्दा पाहुनालाई मौलिक खाना, गाउँको संस्कृति र जनजीवन अनुभव गराउने अवसर दिन्छ । भने अर्कोतिर आर्थिक स्तरमा पनि टेवा पुग्छ । नयाँडाडादेखि चित्रीपाटन सम्मको पदमार्ग निर्माण, मन्दिर संरक्षण गरेर गोतामकोटलाई थप समृद्ध बनाउन सकिन्छ । गोतामकोटदेखि मालिका मन्दिरसम्म ६१३ सिँढी सहितको पदमार्ग निर्माण गरिएको छ, जसले पर्यटकहरूलाई थप सजिलो बनाएको छ ।

पहुँच र आवागमन

गोतामकोट पुग्न आठबीसकोट नगरपालिकाको केन्द्र राडीबजारबाट जाजरकोटको नलगाड नगरपालिका हुँदै गाडी र पैदल यात्रामार्फत जान सकिन्छ । राडीबजारदेखि तल्लु बगर १९ किलोमिटर र तल्लु बगरदेखि गोतामकोट चौतारासम्म ५ दशमलव ५ किलोमिटर यात्रा गरेपछि गोतामकोट पुगिन्छ । राडीबजारदेखि गोतामकोट सम्मको सडक पिच भइरहेकोले सवारी साधनमार्फत सजिलै गोतामकोट पुग्न सकिन्छ ।

यदि गोतामकोटको भ्रमण योजना बनाउँदै छौँ भने, स्थानीय ढुंगा र रातो, सेतो कमेरोले रङ दलेर सजाइएका घरहरूमा बसोबास गर्दै गाउँको मौलिक जीवनशैली, परम्परागत खाना, र सांस्कृतिक कार्यक्रमहरूको अनुभव लिन सकिन्छ । गोतामकोट केवल एउटा गाउँ होइन । यो इतिहास बोकेको ठाउँ हो, संस्कृतिको बासस्थान हो, । यसलाई स्थानीय तथा तीनै तहको सरकारले पर्यटकीय स्थलका रूपमा विकास गर्नसके यहाँको आर्थिक, सामाजिक रूपमा अगाडि बढ्नेछ । भेरीको किनारादेखि सिस्नेको शिरसम्मका सयौँ मनोरम दृश्यले एक आकर्षक गन्तव्यका रूपमा चिनाउँदै लगेको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया