आइपिएल प्ले अफमा दक्षिण अफ्रिकी खेलाडी नहुने

नयाँ दिल्ली । टेस्ट विश्व च्याम्पियनसिपको तयारी गर्नुपर्ने भएका कारण दक्षिण अफ्रिकी खेलाडीले आइपिएलको प्ले अफ गुमाउने भएका छन् । दक्षिण अफ्रिकी टेस्ट टोलीका ८ जना अहिले आइपिएल खेलिरहेका छन् । गुजरात टाइटनका कासिगो रबाडा, लखनउ सुपर जेन्ट्सका आइडन म्याक्रम, पन्जाब किङ्सका मार्को जेन्सन र दिल्ली क्यापिटलका ट्रिस्टियन स्टब्स विश्व च्याम्पियनसिप खेल्ने टोलीमा छन् । यसैगरी, रोयल च्यालेन्जर बंगलोरुका लुंगा एनगिडी, सनराइजर्स हैदरावादका वियाम मलडर तथा मुम्बई इन्डियनका रेन रिकेल्टन र करबिन बोस्क टेस्ट खेल्ने दक्षिणी अफ्रिकी टोलीमा छन् ।

दक्षिण अफ्रिकी क्रिकेट बोर्ड र आइपिएलले टोलीमा रहेका खेलाडीलाई छाड्ने सहमति गरेका हुन् । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल ११ जुन देखि लर्डसमा हुने छ । सीमामा भारत र पाकिस्तानको विवादका कारण स्थगित भएको आइपिएल १७ मेबाट सुचारु हुँदै छ । शनिबार कलकता नाइटराइडर्सको बंगलोरुसँग खेल्ने छ । आइपिएलमा दक्षिण अफ्रिकी खेलाडीको अनुपस्थितिको सबैभन्दा धेरै असर मुम्बईमा पर्न सक्ने छ । सो टोलीमा रिकेल्टन र बस्क दुवैले राम्रो प्रदर्शन गरिरहेका छन् । जेन्सनको अनुपस्थिति पन्जाबका लागि महँगो पनि सावित हुन सक्छ । म्याक्रमको टोली लखनऊ प्ले अफमा जाने सम्भावना लगभग अन्त्य भइसकेको छ । मल्डर रहेको हैदरावाद पनि आइपिएलबाट बाहिरिएको छ ।

प्रतिक्रिया