जनकपुरधाम । वैदेशिक रोजगारीमा साउदी अरबमा काम गरिरहेका प्रमोद साहको स्वास्थ्य अवस्था निकै दयनीय बनेको छ । रोजगारदाता कम्पनीले उपचारमा वास्ता नगरेपछि उनको जीवन नै संकटमा पर्ने जोखिम बढेको हो । प्रमोदका परिवारजनले नेपाल ल्याएर यहीँ उपचार गर्ने भने पनि नेपाल सरकार, साउदी अरबस्थित नेपाली राजदूतावास गम्भीर नहुँदा उनको स्वास्थ्य उपचारदेखि नेपाल ल्याउनका लागिसमेत बेवास्ता भएको देखिएको छ । केही साताअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पीडित परिवारजनलाई फोन गर्दै यसै सातामा प्रमोदलाई नेपाल ल्याइने भनेको एक महिना भइसकेको छ । साउदीअरबस्थित नेपाली राजदूतावासको समन्वयमा आउने पक्कापक्की भए पनि अन्तिम क्षणमा भने विमानस्थलबाटै बिरामीलाई फर्काइएको थियो । साउदी अरबका लागि नेपाली राजदूतावासका काउन्सिलर कविराज उप्रेतीले सम्पूर्ण प्रक्रिया पूरा भइसकेको भन्दै नेपाल उड्नका लागि टिकट लिएर विमानस्थल जान प्रमोदलाई भनेका थिए । गम्भीर घाइते भएर बिरामी रहेका उनी साथीको सहयोगमा विमानस्थल पुगे पनि प्रक्रियामा त्रुटि रहेको भन्दै फर्काइदियो । उनले तत्कालै काउन्सिलर उप्रेतीलाई सम्पर्क गरे पनि सम्पर्कमै आएनन् । टिकटका लागि उप्रेतीले प्रमोदबाट २८ हजार नेपाली रुपैयाँ लिएका थिए ।
श्रम मन्त्रालय र नेपाली राजदूतावासको कार्यालयले समेत गम्भीर घाइते भई बिरामी रहेका प्रमोदको स्वास्थ्यप्रति चिन्तित नहुँदा उनको स्वास्थ्यसँग खेलवाड भइरहेको उनका बुबा सर्युग साहले गुनासो गरे । बिरामी प्रमोदसँग रहेको करिब ३ हजार रियालसमेत उप्रेतीले उद्धारका लागि खर्च हुने भन्दै लिए । तर, उनको न त सहीढंगले उपचार नै भइरहेको छ न त नेपाल ल्याउनका लागि चासो नै देखाएको आरोप उनका एक सहकर्मीले लगाए ।
अहिले उनका भाइ राम साह दाजु प्रमोदको उद्धारका लागि कहाँ जाने भन्दै भौतारिरहेका छन् । काठमाण्डुस्थित श्रम मन्त्रालयमा कैयौँपटक गए पनि विचौलिया र दलालसँग भेटेर कुराकानी गर्न मन्त्रालयकै केही कर्मचारीले भनेको सुनाउँछन् । सोहीअनुसार भेटघाट गर्दा ठूलै रकम खर्चिन भन्ने गरेको सुनाउँदै उनी भन्छन्, ‘त्यति रकम कहाँबाट ल्याउने ?’ भन्दै प्रश्न गर्छन् ।
यता साउदी अरबस्थित नेपाली दूतावासले प्रमोदलाई जेठ १ गते पठाइदिने भने पनि दूतावासले आलटाल गरिरहेको छ । प्रमोदका अनुसार आउने कुरा त परै जाओस् टिकट पनि काटिएको छैन, झन् उनीहरूले बढी नेताहरूबाट फोन गराइस्् भने झन् समस्या हुन्छ भनेर धम्की दिँदै आएका छन् । काम सकेर साउदी अरबस्थित कार्यालयबाट डेरातर्फ गाडीमै गइरहेका धनुषाको धनुषाधाम–५ स्थित नौसय बिघाका प्रमोदसहित केही साथीहरू भलाकुसारी गरिरहेका थिए । सोही क्रममा तीव्रगतिमा विपरीत दिशाबाट आएको एक गाडीले ठक्कर दिएपछि तत्कालै ३ जना पाकिस्तानी र २ जना नेपालीको गाडीमै मृत्यु भएको थियो ।
सोही क्रममा साउदी अरबको एक कम्पनीमा सेक्युरिटी गार्डमा काम गरिरहेका प्रमोद भने गम्भीर घाइते भए । उनको उपचार त्यहाँकै एक अस्पतालमा भइरहे पनि कम्पनी, नेपाली राजदूतावासको लापरवाहीका कारण बेवास्ता भइरहेको छ । दुर्घटनापछि उनी कार्यरत कम्पनीले भने सुरुमा वास्ता नगरेको आरोप उनको आफन्तजनले लगाए । यहाँसम्मकी साउदी अरबमै कार्यरत उनकै गाउँका मित्र तथा आफन्तजनलाई समेत अस्पतालमा उपचाररत अवस्थामा भेटघाटसम्म गर्ने अनुमतिसमेत दिइएन् । उनी भर्ना भएको करिब ३ सातासम्म कोमामा रहेका थिए । उनको करिब ५ महिनादेखि उपचार भइरहेको छ । उनी कोमाबाट बाहिरिए पनि बोलचाल गर्न तथा हिँड्डुल गर्न समस्या रहेको छ ।
उनी कार्यरत कम्पनीले सुरुमै वास्ता नगर्दा र अस्पतालले समेत लापरबाही गर्दा प्रमोदको स्वास्थ्य अवस्था दयनीय हुँदै गएको छ । उनको गम्भीर दुर्घटना भएको थाहा पाएपछि यता घरपरिवारजन घर ल्याउनका लागि साउदी अरबस्थित कम्पनीदेखि काठमाडौँस्थित श्रम मन्त्रालयसम्म धाएको धाएकै छन् । कामको सिलसिलामा २ वर्षको काम सकाएर आएका प्रमोद केही महिना बसेपछि पुनः उनी वैदेशिक रोजगारीका लागि साउदी अरब नै गएका थिए ।
घरपरिवारको पेट पाल्नदेखि बालबालिकाको लालनपोषण र अध्ययनका लागि भए पनि विदेश नै जानुपर्ने बाध्यता देखेपछि उनी अर्कोपटक वैदेशिक रोजगारीका लागि गएका थिए । तर विदेशमा गएको केही महिना नबित्दै भएको दुर्घटनाको खबर पाएपछि अहिले घरमा रुवावासी नै चलेको छ ।
प्रमोदकी श्रीमति, आमा, बुबा, भाइ र छोराछोरीहरूसमेत अहिले बाटो कुर्दै घर फर्काइदिनका लागि मन्त्रीदेखि विभिन्न नेताहरूसम्म चहार्दै छन् । प्रमोदका २ छोरा, १ छोरी र १ श्रीमती छन् ।
जनकपुर
प्रतिक्रिया