‘पेटका केही कुरा’ प्रदर्शनीमा

काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका अनेकन आयामहरूलाई समेटेर कला प्रबन्धक (आर्ट क्युरेटर) बुनु ढुंगानाले तयार गरेको ‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली) मल्टिमिडिया प्रदर्शनी काठमाडौँमा हुँदै छ । यो प्रदर्शनी काठमाडौँ बबरमहलमा रहेको नेपाल कला परिषद् (आर्ट काउन्सिल) मा शुक्रबारसम्म आयोजना हुनेछ ।

यो प्रदर्शनी, ब्रिटिस काउन्सिलको सहयोगमा लक्स तथा आर्ट साउथ एसिया प्रोजेक्टले आर्ट एक्सचेन्जः मुभिङ इमेज साउथ एसिया कार्यक्रमअन्तर्गत आयोजना गरेका हुन् ।

नेपालका कलाकार तथा कला व्यवसायीहरूका लागि अवसर सिर्जना गर्ने र बेलायतको कला क्षेत्रमा उनीहरूको सम्बन्ध स्थापित गराउने प्रतिबद्धतासँगै ब्रिटिस काउन्सिलले बुनु ढुंगानालाई ‘आर्ट एक्सचेन्ज ः मुभिङ इमेज साउथ एसिया’ कार्यक्रममा सहभागी हुन सहयोग गरेको थियो ।

यो कार्यक्रमअन्तर्गत भर्खर काम सुरु गरेकादेखि व्यवसायमा स्थापित हुने क्रममा रहेका भिजुअल आर्ट क्युरेटरहरूलाई सिद्धहस्त व्यवसायीहरूबाट मार्ग निर्देश (मेन्टरसिप), व्यावसायिक विकास र सञ्जालको विकास (नेटवर्किङ) को अवसर प्रदान गरिएको थियो । बुनु ढुंगाना २०२४ नोभेम्बरमा बेलायतमा गएर दक्षिण एसियाली अन्य क्युरेटरहरूसँग अनुसन्धान र नेटवर्किङ कार्यक्रममा सहभागी भएकी थिइन् । बुनुले बेलायत तथा नेपाली कलाकारहरूको चलायमान कलाकृतिहरू (मुभिङ इमेज) लाई समेट्ने प्रदर्शनी आयोजना गर्न सहयोग प्राप्त गरेकी थिइन् ।

‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली) मा समावेश चित्रकला, त्रि–आयाम स्थापना कलाकृति, कविता, छोटो कथा, चलचित्र, चिठ्ठी, र मञ्चनकलाका प्रस्तुतिहरूले चिन्तन, संवाद, र संयोजनको बहुपक्षीय स्थानको सिर्जना गरेका छन् । यो प्रदर्शनीमा आफ्ना सिर्जनामार्फत अस्मिता वादी, श्रद्धा देवकोटा, इरिना गिरी, उज्ज्वला महर्जन, तृप्ति तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ, प्रतिभा तुलाधर र बेलायतकी रेचल लोवले आफ्ना भावनात्मक तथा सांस्कृतिक आयामहरूको सञ्चार, अनुभूति, र संवाद कसरी गरिन्छ भन्ने प्रतिबिम्बित गरेका छन् । प्रदर्शनीसँगै कलाकारसँगको संवाद, प्रस्तुतिहरू, व्याख्यानहरू, कार्यशाला, मञ्चन र चलचित्र प्रदर्शनहरूको आयोजना गरिएको छ ।

प्रतिक्रिया