मोरङ । गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने जानकारी दिए ।
गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबीसमेत गरे ।
उनले वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताए । गृहमन्त्री लेखकले संविधान र वर्तमान व्यवस्थाविरूद्ध राजावादीका कुनै पनि गतिविधि सह्य नहुने बताए ।
उनले नेपाली जनताको ठूलो संघर्ष, त्याग एवं बलिदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अन्य कुनै निरंकुश व्यवस्था व्यवस्था हुन नसक्ने बताए ।
गृहमन्त्री लेखकले वर्तमान सरकारले १० महिनामा गरेको उपलब्धिहरूको प्रशंसा गर्दै आर्थिक सूचकांक र अर्थतन्त्र सवलीकरणतर्फ अगाडि बढिरहेको जानकारी दिए ।
प्रतिक्रिया