काठमाडौं । अमेरिकी र चीनबीच व्यापार सम्झौता भएको छ । जेनेभामा दुई दिन भएको वार्तापछि व्यापार सम्झौता भएको हो । यो सम्झौतापछि अमेरिकी अधिकारीहरुले महत्वपूर्ण उपलब्ध हासिल भएको झन्दै खुसी व्यक्त गरेका छन् । अमेरिकाको सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले भनेका छन्, ‘मलाई यो जानकारी दिँदै खुसी लागिरहेको छ कि अमेरिका र चीनले व्यापार सम्झौतमा महत्वपूर्ण प्रगति हासिल गरेका छन् ।’
यो सम्झौताको जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि गराइसकिएको पनि उनले बताए । सम्झौताको विस्तृत विवरण पछि सार्वजनिक गरिने पनि उनले बताए ।
अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले दुई दिनको वार्ता रचनात्मक भएको र निकै छिटो सहमतिको बिन्दुमा पुगेको बताए । ‘यसले हामीबीच त्यति ठूलो मतभेद थिएन जति ठूलो सोच थियो भन्ने देखाउँछ,’ उनले भनेका छन् ।
बेलाबेला अतिरिक्त शुल्क र कर लगाएर व्यापार युद्धको अवस्थामा पुगेका दुई देशका अधिकारीहरुबीच व्यापार सम्झौता हुनुलाई उपलब्धिमूलक मानिएको छ । हालै राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार घाटा १२ सय अर्ब डलर पुगेको भन्दै ट्यारिफ लगाउने घोषणा गरेका थिए ।
राजदूत जेमिसनले चीनसँग भएको यो सम्झौताले व्यापार घाटा समाधानतर्फ अगाडि बढ्न सघाउने विश्वास व्यक्त गरे । वार्तामा चीनका उपप्रधानमन्त्री, दुई उपमन्त्रीहरू तथा अमेरिकाको तर्फबाट वित्त सचिव स्कट बेसेन्ट र राजदूत जेमिसन ग्रिर सहभागी थिए ।
प्रतिक्रिया