कान्स चलचित्र फेस्टिबलमा एक्लो

काठमाडौँ । विश्वप्रसिद्ध कान्स चलचित्र फेस्टिभलको ७२औँ संस्करण मंगलबारदेखि सुरु हुँदै छ । फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म आयोजना हुनेछ ।

यसवर्षको कान्स थप विशेष हुँदै छ । विश्वचर्चित हलिउड चलचित्र ‘मिसन इम्पोसिबल’को अन्तिम शृंखला ‘डेड रोकोनिङ’को वल्र्ड प्रिमियरमा सहभागी हुन टम क्रुज रेडकार्पेटमा सहभागी हुनेछन् ।

महोत्सव फ्रान्सेली कमेडी चलचित्र ‘लिभ वान डे’ को ओपनिङसँगै सुरु हुने छ । प्रतिस्पर्धामा छनोट नभए पनि कान्स चलचित्र फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा नेपाली चलचित्र ‘एक्लो’ सहभागी हुँदै छ । ‘मार्चे दु चलचित्र’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली चलचित्रले स्टल नै खडा गरेर चलचित्रलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गर्न लागेको हो ।

१३ देखि २१ मेसम्म हुने कान्स मार्केटमा ‘एक्लो’का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट कान्स मार्केटमा सहभागी हुनेछन् । चलचित्रकी कोपरेटिभ डिरेक्टर रिश्ता कार्की बजारीकरण प्रमुखको रूपमा सहभागी हुने छिन् । निर्माताले महँगो पैसा तिरेरै कान्स मार्केटमा स्टल राख्दैछन् ।

स्टलमा नेपालको झन्डा राख्ने तयारी छ । निर्देशक प्रदीप शाही स्वयम प्रोड्युर्स नेटवर्कमा सहभागी हुँदै छन् । उनी तयारीका लागि आइतबार पेरिस पुगेका छन् । ‘हामीले यसवर्षको कान्समार्फत नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौँ’, उनले बताए ।

कान्स सुरु हुनुअघि नै चलचित्रबारे ७ अन्तर्राष्ट्रिय वितरकले चलचित्रबारे रुचि राखेको शाहीले बताए । उनका अनुसार, वेबसाइटमा जानकारी हेरेर ४ अमेरिकी, २ जापानी र १ भारतीय वितरण कम्पनीले प्रस्ताव राखेका छन् ।

कान्स मार्केटमा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, मेकर र ओटिटीमाझ चलचित्र प्रवद्र्धन गर्ने छ । नेपालको छायांकन गन्तव्यबारे प्रचारप्रसार गर्ने, सम्भावित को–प्रोडक्सनबारे मार्केटमा ‘एक्लो’का निर्माताले पहल गर्ने छन् ।

निर्देशक शाही कान्स प्रोड्युसर्स नेटवर्कमा छनोट भएको खबर यसअघि आइसकेको छ । प्रड्युसर्स नेटवर्कमा आफूले विश्व चलचित्र निकायका प्रतिनिधि, निर्मातासँग भेट्नेदेखि लिएर ‘एक्लो’लाई पिच गर्ने आफ्नो तयारी रहेको उनले बताए ।

शाही र ‘एक्लो’का केही कलाकार रेडकार्पेट र कुनै एक चलचित्रको प्रिमियरमा पनि सहभागी हुने तयारीमा छन् । यद्यपि, यसबारे निधो हुन बाँकी छ । कान्स मार्केटमा १४० देशका १४ हजारभन्दा बढी सहभागी हुने छन् । जहाँ, १ हजार ५०० चलचित्रको प्रदर्शन र ४ हजार प्रोजेक्ट पिच हुनेछन् ।

‘साइन्स फिक्सन’ चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली लगायतको अभिनय छ । बेलायती कलाकार जेमी बेकन पनि महत्वपूर्ण भूमिकामा छन् । विज्ञान कथामा आधारित चलचित्र ‘एक्लो’लाई आउँदो तिहारमा नेपालका हलमा प्रदर्शन लक्ष्य छ ।

प्रतिक्रिया