मुगु । यसै त कर्णालीलाई विकटको पर्यायका रूपमा लिने गरिएको छ । भौगोलिक रूपमा विकट यस प्रदेशको पनि विकट मानिएको जुम्ला जिल्लालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले हरेक वर्ष जुम्लादेखि मुगुको रारा तालसम्म अल्ट्रा म्याराथन आयोजना गर्ने गरिएको छ ।
यस वर्ष भएको छैटौँ संस्करणको ५१ किलोमिटर लामो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ दलबहादुर कुँवर र महिलातर्फ कल्पना बुढाले जितेका छन् । जुम्लाको तातोपानी गाउँपालिका–७ का २३ वर्षीय कुँवरले ५ घन्टा ५३ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । उनी अघिल्लो संस्करणका समेत विजेता हुन् । त्यस्तै, महिलातर्फ कल्पना बुढाले निर्धारित दुरी ७ घन्टा ५१ मिनेट ३१ सेकेन्डमा पार गरिन् ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका ४२ वर्षीय सुवेदार होमलाल श्रेष्ठले ६ घन्टा ७ मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए भने तृतीय हुने सोमबहादुर रावतले ६ घन्टा १० मिनेट ०४ सेकेन्डमा पार गरे । चौथो हुने चन्दबहादुर रावतले ६ घन्टा १९ मिनेट २८ सेकेन्ड र पाँचौँ हुने शेरबहादुर बुढाले ६ घन्टा ३१ मिनेट ४२ सेकेन्डमा दुरी पार गरेको आयोजकले जनाएको छ ।
साथै, महिलातर्फ उपविजेता जुम्लाकै २० वर्षीया राज्यलक्ष्मी रावल हुन सफल भएकी छन् । उनले ५१ किमी दुरी ८ घन्टा ४८ मिनेट ४१ सेकेन्डमा पूरा गरिन् । ८ घन्टा ४६ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै सन्दिभा बुढा तेस्रो भइन् भने चौथो भएकी पुसा बुढाले ९ घन्टा ३७ मिनेट ०७ सेकेन्ड, पाँचौँमा अनिशा गुरुङले ११ घन्टा ७ मिनेट २५ सेकेन्डमा दुरी पार गरे ।
छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथनको ३ विधामा गरी ५९१ जना धावकले भाग लिएको आयोजक कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने धावकलाई क्रमशः १ लाख, ७५ हजार, ५० हजार र ३५ हजार नगदसहित मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको शाहीले जानकारी दिए । त्यस्तै, ५ र १० किमी दुरीमा उत्कृष्ट हुने धावकहरूलाई शनिबार नै पुरस्कार वितरण गरिएको थियो । जम्मा ५९१ जना धावक सहभागी रहेका थिए ।
कर्णालीमा साहसिक खेल पर्यटनको विकास गर्न तथा विश्वसामु कर्णाली चिनाउन निरन्तर आयोजना भइरहेको म्याराथनले खेलाडीहरूमा उत्साह थपिएको उनले बताए । आर्थिक अभावका कारण अझै सोचेजसरी प्रतियोगिता व्यवस्थित गर्न नसकिएको उनको गुनासो छ ।
मुगु
प्रतिक्रिया