जवाफी कारवाहीमा पाकिस्तानका धेरै सैन्य अड्डाहरुमा हवाई आक्रमण गरेको भारतको दाबी

काठमाडौं । पछिल्लो समय भारत र पाकिस्तानबीच द्वन्द्व भइरहेको बेला जवाफी कारवाहीमा धेरै पाकिस्तानी सैन्य अड्डाहरूमा हवाई आक्रमण गरेको भारतले दाबी गरेको छ ।

शनिबार पत्रकार सम्मेलनमा भारतीय सेनाकी प्रवक्ता एवं कर्नेल सोफिया कुरेशीले भारतले पाकिस्तानमाथि गरेको आक्रमणको बारेमा जानकारी दिएकी हुन् ।

उनले भनिन, ‘पाकिस्तानले जानाजानी सैन्य (अड्डा) प्रतिष्ठानहरूलाई लक्षित गरेपछि, भारतीय सशस्त्र बलहरूले योजनाबद्ध तरिकाले जवाफी आक्रमण गरे, प्राविधिक प्रतिष्ठानहरू, कमाण्ड र नियन्त्रण स्टेशनहरू, राडार साइटहरू र हतियार डिपोहरूलाई छनौट रूपमा लक्षित गरिएको थियो ।’

‘रफिकी, मुरिद, चकलाला, रहिमयार खान, सुक्कुर र चुनियामा रहेका पाकिस्तानी सैन्य अड्डाहरूमा सटीक हतियार र लडाकु विमानहरूले प्रहार गरे’, उनले भनिन् ।

कर्नेल कुरेशीले भारतले पाकिस्तानको पसरुरमा रहेको राडार साइट र सियालकोटमा रहेको उड्डयन बेसलाई पनि निशाना बनाएको बताइन् । उनका अनुसार यी सबै प्रतिशोधात्मक कार्यहरूका लागि, न्यूनतम संपार्श्विक क्षति (सर्वसाधारण जनतालाई न्यूनतम क्षति) सुनिश्चित गरिएको थियो ।

यसअघि कर्ने कुरेशीले नै पत्रकार सम्मेलनमा पाकिस्तानले हाई स्पीडमा मिसाइल आक्रमण गरेको बताएकी थिइन् । भारतीय सेनाकी कर्नेल कुरेशीले शनिबार एक पत्रकार सम्मेलनमा शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानसँगको सीमामा भारतको बदला लिने कारबाहीको बारेमा जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया