एक अर्काका हमला असफल बनाएको दुबै देशको दाबी

भारत–पाकिस्तानबीच जबाफी हमला जारी

इस्लामाबादमा भारतको मिसाइल हमलाका कारण मृत्यु भएका बालबालिकाको तस्बिर अगाडि मैनबत्ती बालिँदै । तस्बिर : एपीएफ

काठमाडौँ । पहलगाम घटनापछि भारत र पाकिस्तानबीच बढेको तनावले अहिले द्वन्द्वको अवस्था निम्त्याएको छ । अहिले दुबै देश जबाफी हमलामा छन् । शुक्रबार पनि दुबै देशले जबाफी हमला गरेका छन् । विशेष गरी रातको समयमा दुबै देशले आक्रमण गरिरहेका छन् । बिहीबार राती पाकिस्तानले भारतका केही मुख्य हवाई अड्डामा ड्रोन आक्रमण गरेको थियो भने पाकिस्तानको प्रयासलाई आफूहरुले असफल बनाएको भारतले प्रतिक्रिया दिएको छ ।

२२ अप्रिलमा भारत प्रशासित जम्मु–कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा २७ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलाको विरुद्धमा भन्दै भारतले गत बुधबार बिहान (मध्यराति) ‘अपरेसन सिन्दूर’ मार्फत् पाकिस्ताको ९ स्थानमा हवाई आक्रमण गरेको थियो । त्यसपछि दुबै देशबीच तनावपूर्ण अवस्था बनेको छ ।

करिब ५० भारतीय सेना मारिएको पाकिस्तानी दावी

भारत र पाकिस्तानको बीचमा कश्मिरको सीमामा जारी हिंसा जारी छ । बिहीबार राती पनि दुवै पक्षबाट आक्रमण भएका छन् । गत साता आफने ३ सैन्य शिविरमा पाकिस्तानले आक्रमण गरेको जनाएको छ । इस्लामावादले यसलाई अस्वीकार गरेको छ । पाकिस्तानले चेतावनीको भाषा बोलेको छ । पाकिस्तानले अहिलेसम्म सेल्फ डिफेन्समा मात्र केन्द्रित भएको जनाउँदै आक्रमण गर्दा घोषणा गरेर नै गर्ने जनाएको छ ।

बिहीबार नै पाकिस्तानले भारतका ५ ड्रोन खसालेको जनाएको छ । सीमा क्षेत्रका धेरै संसारका धेरै देशका शीर्ष नेताले युद्ध रोक्नका लागि अपिल गरेका छन् । पाकिस्तानी रक्षामन्त्री अब्दुल्ला तरारले ४० देखि ५० भारतीय सेना मारिएको बताएका छन् ।

सुरक्षा संयन्त्रमा असर गरेको भन्दै भारतले ट्विटरलाई ८ हजारको एकाउन्ट बन्द गर्न लगाएको छ । भारतले पाकिस्तानलाई अन्तर्राष्ट्रिय दबाब दिन सुरु गरेको छ । आर्थिक दबाब दिनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग रोक्का हुने भएको छ ।

पाकिस्तान प्रहरीले पाकिस्तान अधिनस्थ कश्मिरमा भएको आक्रमणमा ५ जना मारिएका छन् । यसरी मारिनेमा भर्खर जन्मिएका बच्चासमेत छन् ।
पाकिस्तानले राफेल लडाकु विमानसँगै भारतको अभिमान पनि ध्वस्त भएको टिप्पणी गरेको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले राफेलसँगै भारतको अभिमान पनि ध्वस्त भएको टिप्पणी गरेका हुन् ।

‘यो राफेल मात्रै होइन, भारतको अभिमान पनि खसेको छ’, राष्ट्रिय सभामा उनले भने । राफेल लडाकु विमान गुमाएपछि भारतले ‘कायरतापूर्वक’ चालकरहित हवाइ उपकरण ड्रोनको प्रयोग गरेर पाकिस्तानमाथि आक्रमण गरेको बताए ।

उनले पछिल्ला विकसित घटनाक्रमसँगै पाकिस्तानी सेनालाई पूर्ण अख्तियारी दिएको उल्लेख गर्दै उपयुक्त समय र स्थानमा भारतलाई कठोर जवाफ दिइने उल्लेख गरे ।

यसअघि पाकिस्तानले भारतीय वायुसेनाको ३ वटा राफेलसहित ५ लडाकु विमान खसालेको दाबी गरेको थियो । भारतले पाकिस्तानी दाबीबारे मुख खोलेको छैन । भारतले चेनाब नदीमा बनेको सलाल बाँधका ३ ढोका खोलेको छ । पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गरेपछि भारतले पाकिस्तानतर्फ बग्ने पानी रोक्न केही दिनअघि बाँधका ढोका बन्द गरिदिएको थियो ।

अहिले बाँधका ढोका खोलिएपछि पाकिस्तानमा बाढीको खतरा बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरे पनि त्यसलाई विफल पारिएको दाबी भारतले गरेको छ । पाकिस्तानका रक्षामन्त्रीले त्यसलाई खण्डन गरेका छन् ।

यसको १ दिनपछि बिहानै चेनाब नदीमा बनेको बाँधका ढोका खोलिएको समाचार आएको हो । भारतले पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ ।

भारतले हवाई आक्रमण सुरु गरेपछि र दशकौँमा यी २ छिमेकीबीच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु भएको छ ।

शुक्रवारसम्ममा भारतीय सरकारले २७ विमानस्थलको सूची जारी गरेको छ । त्यहाँ नागरिक उडानहरू बन्द गरिएका छन् । ती विमानस्थल पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसरजस्ता सहरहरूमा रहेका छन् ।

एयर इन्डिया, इन्डिगो र स्पाइसजेटजस्ता भारतका केही ठूला एयरलाइन्सले बुधबारदेखि १०० भन्दा बढी उडान रद्द गरिसकेका छन् । स्थानीय मिडियाले नागरिक उडानको निलम्बन शनिबार बिहान हटाइने सम्भावना रहेको रिपोर्ट गरेका छन् ।

प्रतिक्रिया