नीति तथा कार्यक्रमाथि एमाले सांसदको ‘मौन’ प्रतिक्रिया

काठमाडौँ । शुक्रबार पनि प्रतिनिधिसभामा नीति तथा कार्यमाथिको छलफल जारी थियो । छलफलका लागि बोल्ने सूचीमा नेकपा एमालेका सांसद् चन्द्रबहादुर विश्वकर्माको पनि नाम थियो । सांसद सीताकुमारी रानाले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेपछि विश्वकर्माको पालो थियो । सभामुखको आशनमा रहेकी उपसभामुख इन्दिरा राना मगरले विश्वकर्मालाई ५ मिनेटको समय दिएर आफ्नो भनाइ राख्न रोस्ट्रममा बोलाइन् ।

सत्ता पक्षकै सांसद भएकाले नीति तथा कार्यक्रममाथि विश्वकर्माका सर्मथन नै हुने अपेक्षा अन्य सांसदहरुले गरेका थिए । तर, त्यसको विपरीत उनले नीति तथा कार्यक्रममाथि आफ्नो ‘मौन’ असहमति जनाए । ५ मिनेटको समय लिएर रोस्ट्रममा पुगेका विश्वकर्माले भने, ‘राष्ट्रपतिले वैशाख १९ मा यस सदनमा नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सम्बोधन गर्नुभएको थियो । त्यो सम्बोधनपश्चात् यो गरिमामय संसद्मा आफ्ना क्रिया–प्रतिक्रिया व्यापक रुपमा अगाडि बढिरहेको छ, छलफल भइरहेको छ । मैले पनि प्रतिक्रिया दिनको लागि यहाँ उपस्थित भएको छु । त्यसैले प्रतिक्रिया दिन चाहन्छु ।’ त्यसपछि उनी करिब डेढ मिनेट रोष्ट्रम मै मौन रहे । त्यसपछि सभामुखलाई समयका लागि धन्यवाद भन्दै हिँँडे ।

सत्तारुढ दलकै नेताले नीति तथा कार्यक्रममाथि मौन असमर्थन जनाएपछि अन्य सांसदहरुले यसलाई अनौठो मानिरहेका थिए । संसद् बैठकपछि उनले त्यसबारे आफ्नो प्रतिक्रिया दिँदै त्यसो गर्नुको कारण नीति तथा कार्यक्रमको आलोचना रहेको बताए ।

आइतबार निर्णयार्थ पेस हुँदै नीति तथा कार्यक्रम

पक्षमा मतदान गर्न एमालेको ह्विप

सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम २८ गते प्रतिनिधिसभामा निर्णयार्थ पेस हुने भएको छ । नेकपा एमालेले अनिवार्य रूपमा उपस्थित भएर सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाका अनुसार सरकारको नीति तथा कार्यक्रम आगामी आइतबार निर्णयार्थ पेस हुनेछ । उक्त दिन उपस्थित भएर पक्षमा मतदान गर्न ह्विप जारी गरिएको बर्तौलाले बताए । एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न शुक्रबार आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका हुन् ।

बर्तौलाले जारी गरेको सूचनामा भािएको छ, ‘आर्थिक वर्ष २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई २०८२ वैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न हुन ह्विप जारी गरिएको छ ।’

प्रतिक्रिया