हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँमा एक्कासी सडक भासिएर बेपत्ता गाडी अझैै भेटिएको छैन । ३ दिनसम्म खोजी गर्दा पनि गाडी नभेटिएपछि खोजीका लागि भूगर्भविदको सहयोग लिइने भएको छ ।
शुक्रबार दिउँसो १ बजे ना ४ ख ४८३३ नम्बरको गाडी एक्कासी सडक भासिएर बनेको खाल्डोमा बेपत्ता भएको थियो । हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँमा रोकिराखेको अवस्थामा गाडी जमिन भासिएर बेपत्ता भएको हो ।
गाडीको खोजी गर्न जेसिबी ल्याएरसमेत खनिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसोसम्म पनि खोजी गर्दा गाडी नभेटिएपछि खोजी कार्य स्थगित गरिएको छ । त्यस ठाउँलाई सुरक्षित राखिएको छ ।
बेपत्ता गाडी खोजी गर्न हेटौँडा उपमहानगरपालिकाले आइतबार बैठक गरेर भूगर्भविदको सहयोग लिने निर्णय गरेको छ । उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाका अनुसार सुरक्षा निकायका प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीसमेतसँग बसेर छलफल गर्दा भूगर्भविदको सहयोग लिने कुरा भएको हो ।
प्रतिक्रिया