नेपाली इतिहासको कठिन मोडहरूलाई पार गर्दै नेपालको सहकारी अभियानले एउटा स्वर्णयुगलाई छर्लंग पारिरहेको छ । यस कालखण्डमा सहकारी अभियानले अनेकौंँ आरोह अवरोहहरूलाई पार गर्दै ५६ औँ वर्षमा आइपुग्दा समग्र देशको आर्थिक तथा सामाजिक रूपान्तरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेको छ । यस्तै, राज्यको तीनखम्बे अर्थनीतिअन्तर्गत सहकारी संस्था पनि एक बलियो आधारस्तम्भका रूपमा राज्यद्वारा घोषणा भइसकेको छ । विसं २०१३ साल चैत्र २० गते शारदानगर गाविस चित्तवन, बखानपुरका बखानबहादुर सिंह गुरुङको संरक्षणमा स्थापना भएको बखानपुर बचत ऋण समितिको स्थापनाबाट नै नेपालमा सहकारी अभियानको जग बसेको पाइन्छ । सहकारी अभियानको प्रादुर्भाव भएको ऐतिहासिक दिनको स्मरण स्वरूप चैत २० गते नेपालका आमसहकारीकर्मी हर्ष उल्लासका साथ साष्ट्रिय पर्वकै रूपमा सहकारी दिवस मनाउने गर्छन् । ‘स्वाधीन अर्थतन्त्रका लागि सहकारी’ भन्ने मूल नाराका साथ यस वर्ष पनि नेपालका सहकारीकर्मीहरू प्ले–कार्ड तथा झाँकीसहितको र्याली, रक्तदान, स्वास्थ्य शिविरलगायत कार्यक्रम गरी भव्यताका साथ सहकारी दिवस मनाउने तयारीमा जुटेका छन् । सहकारी अभियानको ५६औँ वर्षको दौडान सहकारीले निकै फड्को मारिसकेको छ ।
सबै वर्ग, जाति, धर्म र संस्कृतिका मानिसलाई एउटै मालामा गाँसेर आर्थिक सामाजिक र सांस्कृतिक रूपले उनीहरूको जीवनस्तर अभिवृद्धि गर्नु सहकारीको मूल धर्म हो । वि.सं. २०१० सालमा सहकारी विभागको स्थापनापश्चात् बामे सर्न सुरु गरेको सहकारी अभियान वि.सं. २०१६ मा आइपुग्दा सहकारी संस्था ऐन २०१६ जारी भएको पाइन्छ । यसैगरी, वि.सं. २०२० सालमा सहकारी बैंकको स्थापना भएको पाइन्छ । यो अवधिमा राजनीतिक अस्थिरताका कारण सहकारी अभियानले राम्रोसँग जरा गाड्न नसके पनि वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुन: स्थापनापश्चात् मात्र सहकारी अभियानले गति लिन थालेको देखिन्छ । ०४८ सालमा सहकारी ऐन र ०४९ मा सहकारी नियमावली जारी भएपछि यही ऐन र नियमावलीमा रहेर तीव्र गतिमा सहकारी संस्थाहरूको स्थापना हुने क्रम बढेको हो ।
५६औँ वर्षको दौडानमा सहकारीले ठूलै फड्को मारिसकेको छ । यो अवधिमा राष्ट्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक र २ सय ४० जिल्ला सहकारी संघ, १६ वटा विषयगत केन्द्रीय संघको स्थापना भइसकेको छ । हालसम्म नेपालमा २६ हजार ६ सय ६० प्रारम्भिक सहकारी संस्थाहरू स्थापना भएर सञ्चालनमा आएका छन् । सहकारी क्षेत्रबाट करिब ५० हजार मानिसले प्रत्यक्ष तथा ५ लाखभन्दा बढीले अप्रत्यक्ष रूपमा रोजगार पाएका छन् भने नेपालभरिका करिब २८ लाखभन्दा बढी मानिस सहकारी संस्थामा आबद्ध भएका छन् । सहकारीले हालसम्म १ खर्ब ५० अर्ब निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब रुपियाँ ऋण प्रवाह गरिसकेको अवस्था छ । राज्यको आर्थिक विकासमा समेत सहकारी अभियानले आफ्नो छुट्टै पहिचान बनाई तीनखम्बे अर्थनीतिअन्तर्गत सहकारी संस्था पनि एक बलियो आधारस्तम्भ भएको राज्यद्वारा स्वीकार गरिसकेको अवस्था छ ।
यस अवधिमा नेपालका पाँच सहकारी संस्था एसियाली स्ट्यन्डर्डमा पुग्न सफल भएका छन् । काभ्रेको खोपासीस्थित विन्धवासिनी बचत सहकारी संस्था लिमिटेड, पनौतीकै सामुदायिक बचत तथा ऋण सहकारी संस्था, बनेपाको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था, दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भक्तपुरको सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था गरी नेपालका पाँच सहकारी संस्थाले एक्सेस ब्रोन्च अवार्ड (चिन्ह) प्राप्त गरेका हुन् । एक प्रतिस्पर्धी उत्कृष्ट सेवा र वित्तीय स्वस्थताको प्रतीक प्रदान गर्ने अन्तर्राष्ट्रिय स्तरको मापन गर्ने आधार ‘ए–वान कम्पिटेटिभ च्वाइस फर एक्सेलिन्स इन सर्भिस एन्ड साउन्डनेस’ (ब्ऋऋभ्क्क् द्यचष्लमष्लन) कार्यक्रममा विगत ३ वर्षदेखि सहभागिता जनाई सन् २०११ नेभेम्बर २६ गरेको ाष्लब िब्गमष्त बाट प्राप्त नतिजाका आधारमा यी संस्थाले एसियाली ऋण महासंघले निर्धारण गरेको ८६ वटा सूचकांकहरू पार गरी सो मापदण्डको परिधिभित्र रही संस्थाले कार्य गर्दै आएको छ । एक्सेस ब्रान्डिंग कार्यक्रमको पहिलो चरणमा नेपालका ७ वटा सहकारी संस्थाको सहभागिता रहेको थियो भने दोस्रो र तेस्रो चरणमा क्रमश : ११ र १३ वटा गरी ३१ वटा सहकारी संस्थाले सहभागिता जनाई एसियाली स्तरमा पुग्न प्रयासरत रहेका छन् । यस्तै, सहकारी अभियानमार्फत ग्रामीण क्षेत्रका जनताको आर्थिक र समाजिक विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेबापत नेपालका दुई सहकारी संस्था अन्तर्राष्ट्रिय स्तरको क्युमी अवार्ड पाउन सफल भएका छन् ।
सहकारी अभियानले कोरेका दीपशिखा अशिक्षा, अन्धविश्वास र अन्य सामाजिक विकृतिले मात्र नभई गरिबी र बेरोजगारले अन्धकार ग्रामीण भेगसम्म फैलिन थालिसकेको छ । सहकारी अभियानले आर्थिक कारोबारका अलावा, सामाजिक जागरण, महिला सशक्तीकरण, गरिबी निवारण, रोजगारीको सिर्जना गर्नुका साथै ग्रामीण एवं दुर्गम क्षेत्रका विपन्न समुदायको जीवनस्तर उकास्ने खालका विभिन्न रचनात्मक भूमिका खेल्दै आइरहेको छ । सहकारी सेवा सबैको घरदैलो पुग्न सफल भएको छ । सुगमदेखि दुर्गम र बालकदेखि वृद्धलाई समेत समेट्ने गरी समयसापेक्ष नवीन कार्य गर्दै साना किसान, मजदुर, व्यवसायी, दलित, जनजाति, पिछडिएका वर्गलगायत सबैको मन जित्न सफल भएको छ । दिनप्रति दिन सहकारीप्रति सबैको आकर्षण बढ्दै गइरहेको छ । संख्यात्मक रूपमा सहकारी अभियानको विकासमा अभ्यास हुनु, न्यून आयस्रोत भएका व्यक्ति तथा दुर्गम बस्तीसम्म पहुँच विस्तार हुनु, सर्वसुलभ रूपमा घरदैलोबाट नै सदस्यहरूलाई सेवा प्रदान गर्नुका साथै सदस्यहरूको हितमा विभिन्न जनचेतनामूलक सामाजिक, सामुदायिक कार्यक्रम सञ्चालन गर्ने भएकाले नै पछिल्लो समयमा सहकारीप्रति सबैको ध्यान केन्द्रित हुन थालेको छ ।
पछिल्लो समयमा सहकारी ऐन, कानुन, सहकारी मूल्य, मान्यता र अन्तर्राष्ट्रिय सहकारी सिद्धान्तको मर्म र भावनाविपरीत केही व्यक्तिले सहकारीलाई ठगी खाने भाँडोको बनाए पनि सहकारीमार्फत देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा यसले ठूलो योगदान पुर्याउँदै आएको छ । व्यापारिक सोच एवं राजनीतिक स्वार्थपूर्तिका रूपमा सहकारीलाई नहेरी सहकारीकर्मी युवा जोस, जाँगर र भित्री उत्साह, उमंगबाट कहिल्यै विश्राम नलिई निरन्तर सहकारी अभियानमा लाग्नु जरुरत छ ।
प्रतिक्रिया