काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालले करिब ५८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार ४८० उद्योगका लागि ५७ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
साउनदेखि चैतसम्म विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ५५ अर्ब ७ करोड तथा स्वचालित प्रणालीबाट २ अर्ब ८९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ९ महिनामा २५६ उद्योगका लागि ५५ अर्ब ७ करोड ७४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट २२४ उद्योगका लागि २ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
चालु आवको ९ महिनाको अवधिमा सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) र सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकोे छ । यस्तै, ५१ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टिटिए) स्वीकृत भएको विभागले जनाएको छ ।
उद्योग विभागका अनुसार ९ महिनाको अवधिमा ४६८ वटा साना उद्योग, ८ वटा मध्यम र ४ वटा ठुला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । ९ महिनामा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १२ हजार ४३५ जनाले रोजगारी पाउनेछन् ।
चैतमा मात्रै १३ अर्ब ३१ करोड प्रतिबद्धता
चालु आर्थिक वर्षको चैत महिनामा मात्रै ५३ उद्योगका लागि १३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जसमध्ये प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट २३ उद्योगका लागि १३ अर्ब १७ करोड ४० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, स्वचालित प्रणालीबाट ३० उद्योगका लागि १४ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।
चैत महिनामा सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) र सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) मार्फत कुनै पनि लगानी प्रतिबद्धता आएकोे छैन । यस्तै ५ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टिटिए) स्वीकृत भएको विभागले जनाएको छ । चैत महिनाको प्रतिबद्धताअनुसार मात्रै १ हजार १८३ जनाले थप रोजगारी पाउनेछन् । चैतमा मात्रै ५३ वटा साना उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । यो महिनामा मध्यम र ठूला उद्योगका लागि कुनै लगानी प्रतिबद्धता प्राप्त भएको छैन ।
विदेशीको रोजाइमा पर्यटन र सूचना प्रविधि क्षेत्र
विभागका अनुसार चालु आवको ९ महिनामा प्राप्त लगानी प्रतिवद्धताअनुसार संख्यात्मक हिसाबमा सबैभन्दा धेरै पर्यटन क्षेत्रका उद्योगका लागि आएको छ । यो क्षेत्रका १८९ उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । जुन कुल उद्योगहरूमा आएको प्रतिबद्धताको ३९ शदमलव ३७ प्रतिशत हो । सूचना प्रविधि क्षेत्रका १८५ उद्योगका लागि प्रतिबद्धता आएको छ । यो कुल प्रतिबद्धताको ३९ प्रतिशत हो । यस्तै सेवा क्षेत्रका ६३ वटा अर्थात १३ प्रतिशत, उत्पादन क्षेत्रका ३४ वटा अर्थात ७ प्रतिशत, कृषिका ७ वटा अर्थात २ प्रतिशत वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका अनुसार हालसम्म ६ हजार ८७८ उद्योगका लागि कुल ५ खर्ब ७७ अर्ब ३१ करोड ७९ लाख ७० हजार रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । हालसम्म स्वचालित प्रणालीबाट ३६३ उद्योगका लागि ११ अर्ब १ करोड ४२ लाख रुपैयाँ तथा स्वीकृति प्रणालीबाट ६ हजार ५१५ उद्योगका लागि ५ खर्ब ६६ अर्ब ७० करोड ३७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धता अनुसारको लगानी भएमा ३ लाख ४० हजार ५८२ रोजगारी सिर्जना हुने विभागको भनाइ छ ।
प्रतिक्रिया