हसिनाको देश फर्कने संकेत

ढाका । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले चाँडै स्वदेश फर्कने संकेत दिएकी छन् । यद्यपि उनले यस विषयमा स्पष्ट रूपमा केही भनेकी छैनन् । यस क्रममा उनले बंगालादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसलाई गम्भीर आरोप पनि लगाएकी छन् ।

हसिनाले बंगलादेश एक ‘आतंकवादी देश’मा परिणत भएको टिप्पणी गरेकी छन् । यस्तै उनले बंगलादेशमा यो वर्षको अन्त्यमा चुनाव हुने सम्भावना रहेको दाबी पनि गरेकी छन् । सामाजिक सञ्जालमा अवामी लिगका नेताहरूसँग कुरा गर्दै हसिनाले भनिन्, ‘अल्लाहले मलाई कुनै कारणले जीवित राख्नुभएको छ । र, त्यो दिन छिट्टै आउनेछ जुन दिन न्याय हुनेछ ।’

उनले अवामी लिगका सदस्यलाई निशाना बनाउनेलाई छिट्टै कारबाही गरिने दाबी पनि गरेकी छन् । हसिनाले अन्तरिम सरकार प्रमुख युनुसलाई ‘जनतालाई कहिल्यै माया नगर्ने व्यक्ति’ भएको आरोप लगाएकी छन् ।

हसिनाले भनिन्, ‘उनी (युनुस) ले चर्को ब्याजमा थोरै ऋण बाँडे र त्यो पैसा विदेशमा विलासी जीवन बिताउन प्रयोग गरे । हामीले उनको द्वैत चरित्र बुझ्न सकेनौँ, त्यसैले हामीले उनलाई धेरै मद्दत ग¥यौँ । तर, जनताले त्यसबाट केही फाइदा लिन सकेनन् । उनले आफ्ना लागि गरे । यसपछि उनी सत्ताको लालसामा परे, जसका कारण अहिले बंगलादेश जलिरहेको छ ।’

हिन्दुस्तानका अनुसार उनले बंगलादेश अहिले ‘आतंकवादी देश’ बनेको बताएकी छन् । उनले भनिन्, ‘हाम्रा नेता र कार्यकर्ताको यसरी हत्या भइरहेको छ, जसको वर्णन पनि गर्न सक्दैनौँ । अवामी लिग, प्रहरी, वकिल, पत्रकार, कलाकारलगायत सबैलाई निशाना बनाइएको छ । बलात्कार, हत्या, लुटपाटका समाचार आउँदैनन् । किनभने यस्ता कुरा रिपोर्टिङ गर्ने टिभी च्यानल र पत्रपत्रिकालाई निशाना बनाइन्छ ।’ हसिनाले अगाडि भनेकी छन्, ‘अब उनीहरूले हामीलाई यो देश फर्कन दिइरहेका छैनन् । मान्छे गुमाउनुको पीडा मलाई थाहा छ । अल्लाहले मलाई सुरक्षित राख्नुभएको छ, किनकि सायद उहाँ मबाट केही राम्रो काम होस् भन्ने चाहनुहुन्छ । अपराध गर्नेलाई अवश्य सजाय हुन्छ । यो मेरो शपथ हो ।’ बंगलादेशका विद्यार्थीहरूको विशाल आन्दोलनले गत वर्ष अगस्ट ५ मा हसिना १५ वर्षदेखिको सत्ता त्याग्दै देशै छाडेर भारत भाग्न बाध्य भएकी थिइन् । अहिले उनी भारतकै शरणमा छिन् । उनी भागेको ३ दिनपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो ।

प्रतिक्रिया