सियोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सुले मंगलबार ३ जुनमा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् । दक्षिण कोरियाको संवैधानिक अदालतले २२ चैतमा राष्ट्रपति युन सुक योलविरुद्धको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेपछि चुनावको मिति घोषणा गरिएको हो ।
राष्ट्रपति योलले गत ३ डिसेम्बरमा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गर्ने असफल प्रयास गरेपछि दक्षिण कोरियाली संसद्ले लगाएको महाभियोग अदालतले सदर गरेको हो । राष्ट्रपति पदबाट हटाइएपछि दक्षिण कोरियाको प्रावधानअनुसार त्यसको ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने मार्ग खुलेको हो ।
सरकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हान डक सुले बताएका छन् । यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक छ’ भन्ने कुरालाई पनि ध्यानमा राखेको उनले बताए ।
फलस्वरूप ‘दक्षिण कोरियाको २१औँ राष्ट्रपति निर्वाचनको मिति ३ जुनमा तोक्ने निर्णय गरेको’ सुनाउँदै उनले मतदान सहज बनाउन त्यस दिन सार्वजनिक बिदा दिइने जानकारी पनि दिए ।
हानले मन्त्रालय र राष्ट्रिय निर्वाचन आयोगलाई ‘पहिलेभन्दा निष्पक्ष र पारदर्शी एवं जनताको विश्वास कमाउन सक्ने निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्न’ आह्वान गरेका छन् । नियमित निर्वाचनमा राष्ट्रपति निर्वाचित व्यक्तिलाई २ महिनाको संक्रमणकालीन अवधि दिइन्छ भने ३ जुनकोे निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन् ।
अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहेका छन् । संवैधानिक अदालतले उनीविरुद्धको महाभियोग भने खारेज गरेपछि उनले भर्खरै पुनः काम सुरु गरेका हुन् । राष्ट्रपति निर्वाचनको आधिकारिक चुनावी अभियान १२ मे देखि २ जुन २ सम्म चल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विपक्षी नेता ली जे म्युङ अहिलेसम्मको जनमत सर्वेक्षणमा अग्रस्थानमा छन् । पछिल्लो ग्यालप सर्वेक्षणअनुसार उनको समर्थन दर ३४ प्रतिशत छ । उनको पार्टीले पहिले नै राष्ट्रिय विधानसभामा नियन्त्रण गरेको छ ।
सन् २०२२ को राष्ट्रपति चुनावमा उनी युनसँग थोरै मतले हारेका थिए । अहिले चलिरहेको मुद्दासहित कानुनी समस्याले छायामा पारेको करिअरका बाबजुद मुख्य विपक्षी दलका नेताका रूपमा राजनीतिक पुनरागमन गरे । दोस्रो स्थानमा श्रममन्त्री किम मुन–सु छन् ।
९ प्रतिशत मत पाउँदै उनले युनको पिपल्स पावर पार्टीका चुनौतीकर्ताहरूको समूहको अगुवाइ गर्दै छन् । यसमा पूर्वपार्टी प्रमुख हान डोङ हुन पनि समावेश छन् । लाखौँ कोरियालीले शुक्रबार संवैधानिक अदालतले युनलाई पदबाट हटाउने फैसला प्रत्यक्ष रूपमा टेलिभिजनमा हेरेका थिए । युन सन् २०१७ मा पार्क ग्युन हाइपछि अदालतले महाभियोग लगाउने दोस्रो दक्षिण कोरियाली नेता भएका छन् ।
प्रतिक्रिया