काठमाडौँ । म्यानमारमा गत शुक्रबार भएको शक्तिशाली भूकम्पमा परी १७ नेपालीभाषी सहित कम्तीमा हजार जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यहाँको सैनिक सरकारका अनुसार भूकम्पमा परी २ हजार ३०० जनाभन्दा बढी घाइते भएका छन् ।
म्यान्डलेका एक दाहाल परिवारमा ७ जनाको मृत्यु भएको त्यहाँ रहेका नेपालीभाषी लक्ष्मण न्यौपानेले बिबिसीलाई बताएका छन् । शुक्रबार राति धेरै नेपालीभाषीले फेरि भूकम्प आउन सक्ने डरले खुला आकाशमुनि रात बिताए ।
भग्नावशेषभित्र पुरिएका मानिसहरूको खोजी तथा उद्धार जारी रहेको अधिकारीहरूले बताएका छन् । भूकम्पको केन्द्रबिन्दुदेखि नजिकै पर्ने म्यान्डलेमा विध्वंशको भयावह दृश्य देखिएको आपत्कालीन सेवासम्बन्धी अधिकारीहरूले उल्लेख गरेका छन् ।
त्यहाँका स्थानीय तथा सुरक्षा अधिकारी भवन भत्काउन र मानिसहरूको उद्धार गर्न सक्रिय छन् । त्यस क्षेत्रमा मात्रै करिब ७०० जनाले ज्यान गुमाएको जनाइएको छ । अस्पतालहरू घाइतेले भरिएका छन् । अस्पताल भरिएर बाहिर सडकमै सुत्केरी भएको भिडियो पनि सार्वजनिक भएको छ ।
सैनिक सरकार प्रमुखले अन्तर्राष्ट्रिय सहायताका लागि अपिल गरेका छन् । जारी गृहयुद्धका कारण राहत कार्य प्रभावित हुने ठानिएको छ । पछिल्ला वर्षहरूमा पश्चिमा देशहरूको तर्फबाट कडा नाकाबन्दी झेल्दै आएको म्यान्मारको सैनिक सरकारले यस्तो अपिल गरेको दुर्लभ घटना हो ।
विध्वंशकारी भूकम्पपछि उसको छिमेकी भारतले सहायता सामग्री पठाएको छ भने चीनले उद्धारमा सघाउन १७ सदस्यीय टोली पठाएको सिसिटिभीले जनाएको छ । भूकम्पबाट प्रभावित थाइल्यान्डको राजधानी बैंककमा पनि राहत तथा उद्धार जारी छ । भूकम्पले एउटा निर्माणाधीन गगनचुम्बी भवन भत्किँदा दर्जनौँ कामदार पुरिएको बताइएको छ ।
भारी उपकरणहरूको प्रयोग गरी भग्नावशेष हटाउने प्रयास शुक्रबारदेखि रातभरि नै जारी थियो । भूकम्पपछि थुप्रै भवनहरूको सुरक्षा जाँच गरिने विवरणमा जनाइएको छ । अधिकारीहरूका अनुसार त्यहाँ करिब २ हजार वटा बहुतले भवन भूकम्पबाट प्रभावित भएको विवरण प्राप्त भएको छ ।
प्रतिक्रिया