सर्लाही । नेपाल पत्रकार महासंघ सर्लाही शाखाले शुक्रबार काठमाडौंमा भएको आन्दोलनका क्रममा समाचार संकलन गर्न तीनकुने पुगेका पत्रकार सुरेश रजकको सुनियोजित हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणविरुद्ध शनिबार सदरमुकाम मलंगवामा विरोधमा प्रदर्शन गरेको छ ।
हिजो शुक्रबार भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको पूर्वतयारी अनुसार आगलागीमा पारी हत्या गरिएको थियो । उक्त घटनाको विरोधस्वरुप शनिबार पत्रकार महासंघ सर्लाही शाखाले जिविस चोकबाट प्रदर्शन सुरु गरेर नगर परिक्रमा गरेका थिए ।
विरोध प्रदर्शनका क्रममा पत्रकारको हत्या र सञ्चारमाध्यममाथिको आक्रमण अक्षम्य अपराध भएकोले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरिएको छ । प्रदर्शनमा सहभागी भएका स्थानीय पत्रकारहरूले पत्रकारको सुरक्षाको ग्यारेन्टी गर, पत्रकार रजकको हत्यारालाई कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, पत्रकारमाथिको दमन बन्द गर लगायतका नाराहरु लगाएका थिए ।
सर्लाही शाखाले पत्रकार रजकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामनासमेत गरेको छ । आन्दोलनका नाममा सञ्चारकर्मीको हत्या गर्ने, सञ्चार जगतलाई आतंकित र त्रसित पार्ने कार्य कदापि स्विकार्य नहुने र यस प्रकारको कार्य घोर आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य कार्य भएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ठहर रहेको छ । यस्ता अमानवीय कार्यमा संलग्न जो कोही भएपनि तत्काल कानुनी कठघरामा उभ्याउन सर्लाही शाखाले सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया