ट्रम्पले गरे शिक्षा विभाग खारेजको निर्णयमा हस्ताक्षर

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग (मन्त्रालय) खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । उनले सन् २०२४ को चुनावी अभियानमै सो कुरा उठाएका थिए । बिहीबार सो निर्णयमा हस्ताक्षर गरेपछि उनले जतिसक्दो चाँडो बन्द गर्ने बताए ।

ट्रम्पले यसलाई केही परम्परावादीले जबरजस्ती टिकाएको बताउँदै आएका थिए । यसलाई पूर्णरूपमा बन्द गर्नका लागि कांग्रेसको अनुमति आवश्यक पर्छ । उनले अमेरिकाले अन्य देशको तुलनामा शिक्षामा धेरै खर्च गरे पनि त्यहाँका विद्यार्थी तल नै रहेको बताएका छन् ।

यसअघि ट्रम्पले गरेका धेरै निर्णय न्यायिक चुनौतीको सामना गरेका कारण यो निर्णयले पनि त्यसै किसिमको चुनौतीको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।
सिनेटमा अहिले रिपब्लिकको मत ५३–४७ को अवस्थामा छ । तथापि यस्ता विभाग दीर्घकालीन रूपमा बन्द गर्नका लागि ६० मत आवश्यक पर्छ । यो विभाग पूर्ण रूपमा बन्द नभए पनि ट्रम्पले यसमा खर्च कटौती गर्ने तथा कर्मचारीलाई बिदा गर्ने निर्णय भने गर्न सक्नेछन् ।

सन् १९७९ मा स्थापित सो विभागले सामुदायिक विद्यालयमा लगानी गर्ने, विद्यार्थी ऋणको व्यवस्था गर्ने तथा निम्न आय भएकालाई शिक्षाको व्यवस्था गर्ने काम गरेको थियो । ट्रम्पले यस विभागले युवा समुदायमा रंगभेद, राजनीतिक तथा यौनका विषयमा सिकाइरहेको आरोप लगाएका छन् । त्यहाँका सामुदायिक विद्यालयका १३ प्रतिशत हिस्सा मात्र संघीय सरकारबाट उपलब्ध हुने गरेको छ । अन्य सबै स्थानीय तह र प्रान्तीय सरकारबाट प्राप्त हुने गरेको छ ।

प्रतिक्रिया