‘मितज्यू’बाट तेरियाको डेब्यु

काठमाडौँ । नृत्यबाट चर्चा कमाएकी तेरिया मगरले फिल्ममा डेब्यू गर्ने पक्का भएको छ । उनले फिल्म ‘मितज्यू’का लागि कागजी सम्झौता गरेकी हुन् । अनिल बूढामगरको निर्देशन रहने यस फिल्ममा अभिनेता दयाहाङ राई पनि अनुबन्ध भएका छन् । उनीहरू दुवैले कागजी सम्झौता गरिसेको निर्माण पक्षले जनाएको छ ।

तेरिया विगत केही समयदेखि फिल्ममा अभिनय गर्ने इच्छा देखाउँदै आएकी थिइन् । अन्ततः उनको फिल्ममा आउने सपना पूरा भएको छ । अहिलेको चल्तीका स्टार दयाहाङको अभिनय रहने फिल्मबाटै डेब्यू गर्न पाउने उनको लागि सुखद पक्ष हो । फिल्ममा तेरिया अभिनेता दयाहाङको जोडी भूमिका देखिने हुन् वा होइनन् भन्ने बारे निर्माण पक्षले खुलाएको छैन । तेरिया फिल्ममा आउनुभन्दा अगाडि नै नृत्यमा नाम कमाएकी कलाकार हुन् । उनले भारतीय रियालिटी सो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन–३ र ‘झलक दिखलाजा’ सिजन–९ की विजेता हुन् ।

तेरियाले सन् २०२२ मा भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ मा ‘क्याम्पस बिट्स’ जस्ता वेब सिरिजमा अभिनय गरेकी थिइन् । फिल्मका अन्य कलाकार चयनको काम बाँकी रहेको निर्माण पक्षले जनाएको छ । छायांकन आगामी नयाँ वर्षको सुरुआतबाट सुरु हुने निर्देशक मगरले बताए ।

निर्देशक मगर र दयाहाङको यो दोस्रो सहकार्य हुनेछ । यो वर्षको हिट फिल्म ‘घर ज्वाइँ’मा उनीहरूको सहकार्य भएको थियो । जिएम मूभिज प्रोडक्सन र एबिएम सिने प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्ममा जनक घर्ती मगरको लगानी रहनेछ । फिल्मको प्रदर्शन मिति २०८२ को २७ चैतलाई तोकिएको छ ।

प्रतिक्रिया