मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि प्रतिबन्धको चेतावनी दिएका छन् । केही समययता युक्रेनसँग आक्रोशित ट्रम्पले बोली फेर्दै रुसविरुद्ध चेतावनीको भाषा बोलेका हुन् । युद्धविरामको प्रयास भइरहेको समयमा युक्रेनमाथि लगातार आक्रमण भएका कारण अमेरिका क्षुब्ध भएको हो ।
युक्रेनी अधिकारीहरूले पछिल्लो २४ घन्टामा ११ जनाको ज्यान गएको बताएको छ । डोन्सटक क्षेत्रमा भएको आक्रमणमा ३० जना घाइते भएका छन् । ८ आवासीय भवन तथा केही प्रसाशनिक भवन पनि क्षत विक्षत भएको छ ।
एक दिनअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम नभएसम्म रुसमाथि कडा प्रतिबन्ध र करको निर्णय हुने कुरामा विचार गरिरहेको ट्रम्पले बताएका छन् । रुसले युद्ध मैदानमा लगातार युक्रेनमाथि आक्रमण गरेका कारण ट्रम्पको विचारमा परिवर्तन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।
राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा प्रवेश गरेयता उनको बोलीमा आएको यो महत्वपूर्ण परिवर्तन हो । यसअघि उनले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको प्रशंसा गर्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको चर्को आलोचना गर्दै आएका थिए । उनले जेलेन्स्कीले युद्ध भड्काएको भन्दै आलोचना गरेका थिए ।
ट्रम्पले सो घोषणा गर्नुअघिको रातमा भने युक्रेनमा बमबारी गर्दै ऊर्जा केन्द्रमा आक्रमण गरेपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । दक्षिणी केर्सन प्रान्तमा कम्तीमा २ सर्वसाधारणको ज्यान गएको छ । थुप्रै राज्यमा ऊर्जा केन्द्र र निजी निवास भत्किएका छन् । धेरै ग्यास उत्पादन केन्द्र पनि नास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
यस युद्धमा ‘स्याट लाइट इमेजेरी’ नभएका कारण अध्यारोमा नै युद्ध गरेको युक्रेनले जनाएको छ । ट्रम्पको यो अभिव्यक्तिको केही घण्टाअघि मात्र पनि उनले पत्रकारसँग जेलेन्स्कीसँगको वार्ता कठिन बताउँदै रुस सहज भएको बताएका थिए । गत शुक्रबार नै ट्रम्प र जेलेन्स्कीबीच ओभल अफिसमा वार्ताको क्रममा भनाभनसमेत भएको थियो । यसअघि ट्रम्पले जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका थिए । यसै साता ट्रम्पले युक्रेनलाई गर्दै आएको सबै सहयोग रोक्ने निर्णयसमेत गरेका थिए ।
प्रतिक्रिया