सुशान्तको कन्सर्ट भक्तपुरमा

काठमाडौँ । शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट हुँदै छ । साढे २ वर्षपछि पहिलोपटक उनी काठमाडौँ उपत्यकामा ‘सुशान्त केसी लाइभ इन नेपाल’मार्फत संगीतप्रेमीमाझ गुञ्जिँदै छन् ।

कन्सर्टको तयारी लगभग पूरा भएको छ । नेपालमै पहिलोपटक उक्त कन्सर्टको स्टेजलाई दुवै साइटबाट क्रेनले उठाएको छ । स्टेजको र्याम्प जेनेरल प्लाटफर्मसम्म पुग्ने गरी बनाइएको छ । १५ हजारभन्दा धेरै दर्शक सहभागी गराउने लक्ष्य रहेको कन्सर्टमा चर्चित व्यक्तिहरू आउने आशा टिमले लिएको छ ।

केहीदिनअघि गायक केसीले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई कन्सर्टमा आउन निम्तो दिएका थिए । काठमाडौँमा प्रस्तुति दिनु आफ्ना लागि सधैँ विशेष भएको र आफू उत्साहित रहेको सुशान्तले सुनाए । कन्सर्टमा सुशान्तले बार्दली, सारंगी, साथी र आमालगायत गीतसँगै नयाँ सिर्जना पनि पस्कने छन् ।

सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक ट्रयाक सुन्न पाउनेछन् । कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ । एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुने यस कन्सर्टलाई भव्य बनाउन विभिन्न व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया