काठमाडौँ । आगामी दसैँको फूलपातीमा रिलिज हुने नेपाली फिल्म ‘बलिदान’ को मुख्य पात्रमध्ये एक पात्रको लुक सार्वजनिक गरिएको छ । यस पात्रमा नव अभिनेत्री कविता रायलाई देख्न सकिन्छ ।
पोस्टरमा किरण पात्र एक हिंसात्मक र संघर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ । समग्रमा पोस्टरले एक महिला पात्रको संघर्ष, हिंसा, प्रतिरोध, र बलिदानको कथा भन्न खोजेको स्पष्ट छ ।
चलचित्रका निर्देशक सन्तोष सेनले बलिदानमा राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तुस्थिति काल्पनिक रूपमा तर नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको बताए ।
जुन वर्गलाई उनले यस चलचित्रमा भिल्ला वर्ग नाम दिएका छन् र त्यो समुदाय बस्ने स्थानलाई भिल्लमगढ नामकरण गरेका छन् । सो वर्ग नेपालको तराई क्षेत्रका समुदायसँग मिल्दोजुल्दो छ ।
सोही वर्गलाई प्रतिनिधित्व गर्ने महिला प्रमुख कलाकारको आवश्यकतालाई मध्यनजर गरी अडिसनमार्फत कविता रायलाई छनोट गरिएको थियो । मुख्य भूमिकामा यो चलचित्र नै रायको पहिलो चलचित्र हो ।
यस फिल्ममा अभिनेता समीर भट्ट मुख्य भूमिकामा छन् । साथै, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्र ‘आसुसेन फिल्म्स् प्राली’ को प्रस्तुति हो । यसका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् ।
प्रतिक्रिया