काठमाडौँ । पटक–पटकको कूटनीतिक प्रयासबाट पनि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको साइत नजुरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण गराएर सम्बन्ध सुधार गर्न पहल थालिएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणाको आसन्न भारत भ्रमण फलदायी बनाएर यसबीचमा चिसिएको सम्बन्ध सुमधुर बनाउने प्रयास थालिएको हो । भारत सरकारको निमन्त्रणमा परराष्ट्रमन्त्री राणा आगामी चैत पहिलो साता नयाँ दिल्ली जाने कार्यक्रम तय भइसकेको छ ।
चैत ४ देखि ६ गते (मार्च १७–१९) मा नयाँ दिल्लीमा आयोजना हुने ‘रायसिना डाइलग’मा सहभागी हुन परराष्ट्रमन्त्री राणालाई भारतले निमन्त्रणा पठाएको हो । भ्रमणका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको कार्यक्रम तय गर्न गत मंगलबार राजदूत शंकर शर्माले भारतीय विदेश सचिव विक्रम मिश्रीसँग भेटवार्ता गरेका थिए ।
भेटवार्ताको २ दिनपछि बिहीबार सकारात्मक जबाफ आएको जानकारी राजदूत शर्माले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएका छन् । मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाट हुने तय भएको छ । भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटघाटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री ओलीको तर्फबाट पठाइएको नेपाल भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गर्ने तयारी छ ।
स्रोतका अनुसार आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना हुने सगरमाथा संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी गराउने पहल सरकारले अघि बढाएको हो । प्रधानमन्त्री ओलीले गत माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरेका थिए ।
यसअघि गत पुस पहिलो साता परराष्ट्रमन्त्री डा. देउवा भारत–नेपाल आर्थिक सम्मेलनमा सहभागी हुन दिल्ली जाँदा प्रधानमन्त्री मोदीलाई मात्रै होइन, समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने प्रयाससमेत विफल भएको थियो । भ्रमणअघि आवश्यक गृहकार्य नगरिएका कारण प्रयास असफल भएको टिप्पणी त्यतिबेला गरिएको थियो । तर, त्यो घटनाबाट पाठ सिक्दै यस पटक पर्याप्त गृहकार्य गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदी तथा समकक्षी जशंकरसँगको भेटघाटलाई फलदायी बनाउने सन्दर्भमा परराष्ट्रमन्त्री राणा विज्ञहरूसँगको छलफलमा जुटेकी छिन् । ‘यद्यपि भेटवार्ताका क्रममा नेपालको पहिलो प्राथमिकता भनेको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नै हो,’ गत भदौमा भएको परराष्ट्रमन्त्री देउवाको पहिलो भ्रमणदेखि नै नेपालले प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि पहल गरेको स्मरण गर्दै स्रोतले जनायो ।
प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमणका रूपमा भारत जाने प्रचलनलाई निरन्तरता दिने ओलीको इच्छा पूरा हुन नसकेपछि गत मंसिर १७ देखि २० गतेसम्म चीनको भ्रमण गरेका थिए । त्यसलगत्तै उनले आफूले छिट्टै भारतको पनि भ्रमण गर्ने भने पनि औपचारिक निमन्त्रणा पाउन सकेका छैनन् । प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणमा नबोलाउनुले पनि २ देशबीचको सम्बन्ध चिसिएको स्पष्ट संकेत देखिएको छ ।
प्रतिक्रिया