काठमाडौँ । फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले मानिसहरू आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई देखाउन खोजिएको छ । ५ मुख्य कलाकारलाई सिनेमाको ट्रेलरमा रक्तिम अवतारमा प्रस्तुत गरिएको छ । ट्रेलरमा सहरिया परिवेशमा धोका जालझेल र आफ्नो स्वास्थपूर्तिका लागि जस्तोसुकै कदम चाल्नसक्ने प्रवृत्ति यी पात्रहरूमा रहेको संकेत गरेको छ । लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । यसर्थ सिनेमाले विशेषगरी युवा दर्शकलाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको यो केशव पाण्डेको डेब्यु निर्देशकीय फिल्म हो । यस फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यु अभिनेता सागर खनालको अभिनय छ । सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।
निर्देशक पाण्डेले आफूलाई फरक काम गर्न मन लाग्ने भएकाले पनि आफूले डेब्यु निर्देशकीय सिनेमा नै क्राइम थ्रिलर जनरा छानेको बताए । पोस्ट प्रोडक्सनमा केही समय लागेकाले पनि सिनेमा रिलिजमा केही समय लागेको उनले जानकारी दिए ।
चित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । सिनेमालाई कुवेर सिने डिस्ट्रिब्युसन प्रालिले वितरण गर्नेछ । यो फिल्म ८ चैतबाट रिलिज हुँदै छ ।
प्रतिक्रिया