काठमाडौँ । काठमाडौँको सर्वनाम थिएटरमा १७ फागुनमा सुरु भएको इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभलको बुधबार ‘फरेवेल लेट अस गो टु साउथ’ र फ्रान्सेली निर्देशक म्याक्सिम सिसडद्वारा निर्देशित ‘अ लिटल बर्ड इन द केज’ नाटक प्रदर्शनसँगै समापन भएको छ । इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा ५ दिनसम्म सञ्चालन भएको महोत्सवमा विभिन्न देशका २ दर्जन बढी नाटकहरू प्रदर्शन भएका थिए ।
‘शान्तिको लागि थिएटर, संस्कृतिहरूको आदानप्रदान र दिगो भविष्य संरक्षण’ मूल नारा रहेको फेस्टिभलमा जापान, भारत, चीन, थाइल्यान्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिंगापुर, नेपालसहित १३ देशका विभिन्न सहरका २०० बढी रंगकर्मी तथा कलाकारहरू सहभागी भएका थिए । काठमाडौँमा समापन भएलगत्तै २३ देखि २५ फागुनसम्म इटहरीको मेट्रिक्समा र २६ गते धनकुटामा समेत यो महोत्सव जारी रहनेछ ।
महोत्सवको पहिलो दिन हङकङका मोक चि यु द्वारा निर्देशित ‘विभिङ फ्रीडोम’, भारतका नाट्य चेतनाद्वारा प्रस्तुत नाटक ‘देवी’ र दक्षिण कोरियाका नामोदाक मोवेमेन्टको नाटक ‘मिटिङ’ प्रदर्शन भएको थियो ।
दोस्रो दिन ४ नाटक प्रदर्शन भएका थिए । नेपालको तर्फबाट सर्वनाम थिएटरको प्रस्तुतिमा अशेष मल्लद्वारा निर्देशित नाटक ‘अर्को कुरुक्षेत्र’, राज शाहको नाटक ‘मनोक्रान्ति’, फिलिपिनी नाटक ‘अरीमोमाँगा’ र थाईल्याण्डको नाटक ‘डिसेप्सन अफ द डेमन’ प्रदर्शन भएको थियो । तेस्रो दिन बंगलादेशको नाटक ‘तुम्बा एन्ड द नेइवर’, सिंगापुरको ‘सिक्स माइक्रो लेक्चरस् अन जेनोसाइड’ र चीनको ग्रास स्टेज थिएटरको ‘बियोन्ड होप एन्ड डिस्पेअर’ प्रदर्शन गरिएको थियो । चौथो दिन हङकङको नाटक ‘तु दु, जापानी नाटककार इन्डी लीको ‘इट वोन्ट बी लङ नाउ’ र नतसुको किरितानीको ‘द ट्रान्स – बोर्डर’ मञ्चन भएको थियो ।
महोत्सवमा नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ ओटा नाट्य प्रशिक्षण तथा कार्यशालाहरू पनि सञ्चालन भइरहेका छन् । पहिलो दिन बंगलादेशी निर्देशक तथा कलाकार शमिमा शकेत, दोस्रो दिन बेलायती नाट्य निर्देशक तथा कलाकार इन्डी लि, जापानी नाट्य निर्देशक नात्सुको किरितानी तथा हङकङका कलाकार समूहद्वारा कार्यशालाहरू सञ्चालन भएको थियो ।
तेस्रो दिन दक्षिण कोरियाली समूह नमोदक मुभमेन्ट ल्याब तथा ताइवानी थिएटरहरू असाइनमेन्ट र स्पेस थिएटर तथा चौथो दिन नेपाली नाट्य निर्देशक अशेष मल्ल, भारतीय प्रशिक्षक समूह नाट्य चेतना र फिलिपिनी प्रशिक्षण समूह फिलिपिन एजुकेसनल थिएटर समूह (पेटा) को कार्यशाला रहेको थियो । अन्तिम दिन सिंगापुरका प्रशिक्षक कोक हेङ लियुन, थाइल्यान्डको प्रशिक्षण समूह अनट्टा थिएर ट्रुप र चिनियाँ ग्रास स्टेज थिएटर प्रशिक्षण समूहले नाट्य प्रशिक्षण तथा कार्यशाला प्रस्तुत गरेका थिए ।
हङकङका मोक च्यू अगस्टाइन, सर्वनाम थिएटरका निर्देशक अशेष मल्ल तथा विश्वमा मानवअधिकार, समानताका लागि समर्पित रंगकर्मीहरूको सहकार्यमा यो महोत्सव आयोजना गरिएको हो । विश्वमा प्रजातन्त्र र लोकतन्त्रका लागि आवाज उठाउँदै आएको रंगकर्मीको समूह र नेपालजस्तो पवित्र भूमिमा महोत्सव आयोजना गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको महोत्सवका सहअध्यक्ष मोक च्यूले बताए । सयौँ रंगकर्मीको जमघटले रंगकर्मीको सिर्जनशीलतामा अझै निखार ल्याउने साथै महोत्सवमा हुने वर्कसप तथा छलफल तथा संवादले वैचारिक दृष्टिकोणमा समेत निखार ल्याउन सक्ने उनले बताए ।
यो महोत्सवले कुनै पनि देशको प्रतिनिधित्व गर्ने नभई, देशभित्र रहेका मानिसहरूको कला, संस्कृति, रहनसहन, रितिरिवाज, परम्परा, पहिचान आदिको प्रतिनिधित्व गर्ने सर्वनामका निर्देशक तथा महोत्सवका सहअध्यक्ष अशेष मल्ल बताउँछन् । आफू पनि लामो समयसम्म प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लागि संघर्ष गरिरहेको विगत सुनाउँदै यो महोत्सवमा सबैसँग नाटक तथा संस्कृतिको आदानप्रदान गर्न पाउँदा आफूले अहोभाग्यको रूपमा ठानेको बताए ।
प्रतिक्रिया