जापानमा ठूलो डढेलो

टोकियो । जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ । डढेलो निभाउन संघर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका लागि बुधबार परेको पानी र हिउँको हल्का वर्षाले डढेलो नियन्त्रणमा सहयोग पुग्ने आशा पलाएको छ ।

उत्तरी सहर ओफुनातो वरपर १ हप्ताभन्दा बढी समयदेखि लागेको डढेलोका कारण १ जनाको मृत्यु हुनुका साथै करिब ४ हजार बासिन्दालाई आफ्नो घर खाली गर्न बाध्य पारिएको छ ।

यसले लगभग २ हजार ९०० हेक्टर सखाप पारेको छ र यो सन् १९७५ होक्काइदोमा २ हजार ७०० हेक्टर जलेको डढेलोपछिको सबैभन्दा ठूलो डढेलो हो । एएफपीका संवाददाताका अनुसार बुधबार भएको हल्का वर्षा र हिउँका कारण पहाडहरूबाट सेतो कुहिरो निस्केको देखिएको थियो । बिहीबारसम्म थप पानी पर्ने अनुमान गरिएको छ ।

आफ्नो घरबाट भागेर आफन्तसँग बसिरहेका ८५ वर्षीय मित्सुओ ओत्सुबोले भने, ‘मैले पहिले कहिल्यै नदेखेको यति ठूलो डढेलोले बस्तीहरूलाई त्रसित पारेको छ । यो विशाल छ र तीव्र गतिमा फैलिइरहेको छ ।’

‘यो वर्ष वर्षा वा हिमपात भएको छैन । खुसीको कुरा आज वर्षा भएको छ । म केबल आशा गर्न सक्छु कि यसले स्थितिलाई नियन्त्रण गर्न मद्दत गर्नेछ ।’ समुद्री शैवाल र ‘स्क्यालप’ (सामुद्रिक झार) को खेती गर्ने एक किसानले भने ।

जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढेसँगै जापानमा गत वर्ष अहिलेसम्मकै सबैभन्दा बढी गर्मी भएको थियो । ओफुनातोमा फेब्रुअरीमा मात्र २ दशमलव ५ मिलिमिटर वर्षा भएको थियो । जसले सन् १९६७ को ४ शदमलव ४ मिलिमिटरको उक्त महिनाको रेकर्ड तोडेको थियो ।

प्रतिक्रिया