काठमाडौँ । कालिभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार यसवर्ष साहित्यकार प्रेम छोटा र सञ्चारकर्मी ओम भण्डारीलाई प्रदान गरेको छ । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले कालिभक्त पन्तको गाउँ पर्वतको फलेवासमा आयोजना गरेको विशेष कार्यक्रममा पुरस्कार तथा सम्मान–पत्र प्रदान गरिएको हो ।
नेपाली लोक साहित्य, राणा–पञ्चायत बिरोधी राजनीतिक आन्दोलन, शिक्षा–कृषिक्रान्तिदेखि छुवाछुत बिरुद्ध र छोरी पढाउसम्मको अभियान चलाउने कालीभक्त पन्तको ३३औँ बार्षिक स्मृतिमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा भएकोे कार्यक्रमका प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले पुरस्कार तथा सम्मान पत्र प्रदान गरे ।
नेपाली लोकवार्ता, लोकगीत तथा लोकसाहित्य र संस्कृतिको क्षेत्रमा खोज, अनुसन्धान, लेखन तथा प्रकाशन गर्दै अनवरत सक्रिय भै नेपाल तथा विश्वमाझ पुर्याउन गरेको योगदानकालागि बाग्लुङ नगरपालिका ३ का साहित्यकार प्रेम छोटालाई १ लाख नगसहित कालीभक्त पन्त लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिएको छ । यो पुरस्कारको राशि विदेशमा १००१ (एक हजार एक) डलर दिने गरिन्छ ।
त्यसैगरी रेडियो कार्यक्रम प्रसारणको माध्यमबाट २ दशकभन्दा लामो समयदेखि नेपाली लोकगीत, लोकवार्ता, लोक परम्परा र लोकसंस्कृतिको खोज, वृस्तिति तथा अनुसंन्धानात्मक कार्यमा सक्रिय हाल रेडियो थाहा सञ्चार काठमाडौँमा कार्यरत कमलामाई नगरपालिका ३ सिन्धुलीका ओम भण्डारीलाई १० हजार रुपैयाँ नगदसहित कालिभक्त पन्त स्मृति पुरस्कार २०८१ प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा प्रतिष्ठानले स्थानीय विद्यालयका केहि जेहेन्दार छात्राहरुलाई छात्रवृति प्रदान गर्नुका साथै स्थानीय बृद्धा बेणुका पौडेललाई जेष्ठनागरीक सम्मान समेत प्रदान गरेको छ । स्थानीय जनप्रतिनिधी, समाजसेवी, कालीभक्त–कृष्णा पन्तका सन्तती लगायत पुरस्कृतहरुले कालीभक्त पन्तको योगदानमाथी चर्चा गरे ।
प्रतिक्रिया