लेबनानी राष्ट्रपति साउदी अरेबियातर्फ

बेरुत । लेबनानका राष्ट्रपति जोसेफ खालिल औनले कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका लागि सोमबार साउदी अरबको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनले यसै वर्ष जनवरीमा लेबनानको राष्ट्रपतिका रूपमा शपथ लिएका थिए । रियाद र वासिंगटनको समर्थनप्राप्त पूर्व सेनाप्रमुख औन जनवरी ९ मा लेबनानको राष्ट्रपति निर्वाचित भएका थिए । उनको निर्वाचनले लेबनानमा राजनीतिक र आर्थिक संकटका बीच २ वर्षभन्दा बढी समयदेखिको शक्ति शून्यता अन्त्य गरेको थियो ।

इजरायलसँगको विनाशकारी युद्धका क्रममा लेबनानको इरान समर्थित हिजबुल्लाह कमजोर भएपछि उनको निर्वाचन सम्भव भएको थियो । उनको कार्यालयका प्रवक्ताले भने, ‘लेबनान र समग्र अरब क्षेत्रको सुरक्षा तथा कूटनीतिक सम्बन्ध र लेबनानका लागि साउदी अरबको सैन्य सहायतालाई नवीकरण गर्न उहाँको भ्रमण फलदायी हुने विश्वास गरिएको छ ।’

लेबनान र साउदी अरबबीचको सम्बन्ध वर्षौंदेखि तनावपूर्ण रहँदै आएको छ । सन् २०१६ मा रियादले लेबनानी सेनालाई दिइने ३ अर्ब अमेरिकी डलरको सैन्य सहायता रोकेको थियो । ‘मेरो भ्रमणका क्रममा म सम्भव भएसम्म सैन्य सहायता पुनः सक्रिय बनाउन प्रयास गर्नेछु’, एक अन्तर्वार्तामा भनेका थिए ।

लेबनानसँगको ‘ऐतिहासिक सम्बन्ध’ र क्षेत्रीय तथा विश्वव्यापी खेलाडीको रूपमा साउदी अरबको भूमिकाका कारण आफूले साउदी अरबलाई आफ्नो पहिलो गन्तव्यका रूपमा रोजेको राष्ट्रपति औनले बताए । उनले भने, ‘साउदी अरबले हामीलाई दुवै देशको हितमा सम्बन्ध पुनस्र्थापित गर्न र हालका अवरोधहरू पार गर्न मद्दत गर्नेछ भन्ने मेरो विश्वास छ ।’

लेबनानले ‘भिजन २०३०’ अर्थात् तेलभन्दा बाहिरको अर्थतन्त्रलाई विविधीकरण गर्ने रियादको पहलसँग सहकार्य गर्न सक्ने बताउँदै उनले ‘सामान्य आर्थिक सम्बन्ध निर्माण’ हुनेमा आशा आशा व्यक्त गरे । ‘यसले साउदी नागरिकहरूलाई आफ्नो दोस्रो घर लेबनान फर्कन अनुमति दिनेछ भने लेबनानीहरू पनि साउदी अरबसँग पुनः जोडिन उत्सुक छन्’, उनले भने ।

लेबनानमा सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछि हतियार राख्ने एक मात्र समूह हिजबुल्लाह लेबनानमा प्रमुख शक्तिका रूपमा रहँदै आएको छ । औनले ‘सकारात्मक तटस्थताको नीति’ र ‘अरब देशहरूसँग सर्वोत्तम सम्बन्ध’ को पनि प्रतिज्ञा गरे ।

प्रतिक्रिया