काठमाडौँ । बहुप्रतिक्षित फिल्म ‘होस्टेल–३’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गर्छ । ट्रेलरले जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा देखाइएको छ ।
ट्रेलरमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका नयाँ कलाकार देख्न सकिन्छ । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ भिलेनको भूमिकामा देखिएका छन् ।
सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रालिको संयुक्त ब्यानरमा बनेको यो फिल्म २३ फागुनमा रिलिज हुँदै छ ।
‘होस्टेल’को अघिल्लो शृंखलाबाट अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेनलगायत दर्जनौँ कलाकार उदाएका थिए । अब ‘होस्टेल–३’ले पनि नयाँ कलाकारलाई स्थापित गर्ने संकेत गरेको छ । २ दशकदेखि संगीत तथा म्युजिक भिडिओ निर्देशनमा सक्रिय सशान कँडेलले निर्देशन गरेका हुन् ।
माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शंकर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।
अर्जुन तिवारीको छायांकन निर्देशन रहेको चलचित्रलाई सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसीको एक्सन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सगीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ ।
ट्रेलरमा आकर्षक दृश्य, रोमाञ्चक कथा र युवा उमंग झल्काउने विभिन्न दृश्यले दर्शकमाझ प्रतीक्षा बढाएको छ । युवा पुस्ताको वर्तमान र अघिल्लो पुस्ताको विगतलाई स्मरण गराउन सफल ट्रेलरबाट ‘होस्टेल–३’ले अघिल्ला सिरिजको जस्तै युवा पुस्तालाई आकर्षित गर्ने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया