स्याङ्जा । वालिङ नगरभित्र व्यावसायिक बंगुर पालन गर्दै आएका किसानलाई लक्षित गर्दै जैविक सुरक्षासम्बन्धी एकदिने स्थलगत तालिम नगरको सभाहलमा सम्पन्न गरिएको छ । नगरभित्र रहेका सक्रिय ३५ व्यावसायिक फर्म र ५ वटा समूहहरूलाई संक्रामक रोगहरूबाट कसरी बचाउने भन्ने विषयमा तालिम आयोजना गरिएको भेटेरिनरी अस्पताल स्याङ्जाका प्रमुख डा.रुपेश श्रेष्ठले बताए ।
पछिल्लो समय स्याङ्जाको केही बंगुर फर्ममा महामारीको रूपमा अफ्रिकन स्वाइन फिबर रोग देखिएपछि पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको डा.श्रेष्ठको भनाइ छ ।
जिल्लामा यही रोगको कारण झण्डै आधा दर्जन बंगुर मरेपछि यसको संक्रमण अन्यत्र हुन नदिन बंगुर पालक किसानलाई जैविक सुरक्षासम्बन्धी तालिम प्रदान गरिएको हो ।
जिल्लाका बंगुर फर्मका किसानहरूलाई खोरेँत, स्वाइन फिवर, अफ्रिकन स्वाइन फिवर, आन्तरिक परजीवी र बाह्य परजीवीजस्ता रोगहरूले हैरानी बेहोर्नुपरेको किसानको गुनासो छ ।
हालसम्म अफ्रिकन स्वाइन फिवरको उपचार नभएको र प्रभावकारी खोप पनि विकसित नभइसकेको हुँदा रोकथाम नै उक्तम विकल्प रहेको वालिङ नगरपालिकाका पशु शाखा प्रमुख डा.रोशन बस्यालले बताए ।
बाहिरबाट असुरक्षित पाठापाठी र माउ ल्याउँदा यस्ता रोगहरू बंगुरले बोकेर आउने गरेका छन् ।
संक्रमित बंगुरहरूमा कडा ज्वरो आउने, खाना नखाने, वान्ता हुने, पखाला लाग्ने, शरीरभरि रातो धब्बा देखिनेजस्ता लक्षण देखिएपछि नगरपालिकाको पशु शाखा वा भेटेरिनरी अस्पतालमा तत्काल खबर गर्न पशु चिकित्सकले अनुरोध गरेका छन् ।
संक्रामक रोगले बंगुरको उच्च मृत्यु दर रोकथाम गर्न जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पालिकास्तरीय कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
वालिङ नगरलाई बंगुरको मासु तथा पाठापाठीमा आत्मनिर्भर बनाउने कार्यक्रम अघि सारिएको नगरप्रमुख कृष्ण खाँणले बताए । नगरप्रमुख खाँण भन्छन्, ‘बाहिरबाट रोग बोकेर आउने बंगुर रोकथाम गर्दै यहीँको बंगुरलाई प्राथमिकतामा राख्ने नीति बनाउँदैछौँ । यसका लागि बंगुरपालक किसान उत्साहित भएर संख्या वृद्धि गर्नुहोस्, बाहिरको आयात नियन्त्रण हुन्छ ।’
वालिङ नगरभित्र बंगुरपालनमा सक्रिय किसानलाई व्यवसाय वृद्धि गर्न बिउ पुँजीको रूपमा आर्थिक सहयोग गर्न नगर तत्पर रहेको नगर उपप्रमुख कविता गैह्रेले बताइन् । बंगुरपालक किसानको जोखिम कम गर्न इन्सुरेन्स कम्पनीले पनि सहकार्य गर्ने शिखर इन्सुरेन्स प्रवन्धक शंकर सुवेदीले बताए ।
यदि नगरले बाहिरबाट हुने आयात बन्द गर्न सक्ने हो भने वालिङ नगर बंगुरमा आत्मनिर्भर बन्ने मात्र होइन बंगुर व्यवसाय अर्थतन्त्रको राम्रो मेरुदण्ड बन्न सक्नेछ ।
स्याङ्जा
प्रतिक्रिया