ऊर्जा ऋणपत्र निष्काशन गर्न निफ्रालाई अनुमति

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले २०८२ वैशाख ३० मा ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६ प्रतिशत २०८८–८९’ नामक हरित ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंक (निफ्रा) ले ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको ‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशत (२०८८–०८९)’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बोर्डबाट अनुमति पाएसँगै निफ्राले ५ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । कुल निष्कासन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरूका लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिने निफ्राले जनाएको छ ।

उक्त ऋणपत्रबाट संकलित पुँजी पर्यावरण मैत्री परियोजना सञ्चालनका साथै दिगो विकासका कार्यमा लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनीकरणमा सहयोग पु¥याउने परियोजनामा परिचालन गर्ने गरी उक्त अनुमति प्रदान गरिएको बोर्डले जनाएको छ । कम्पनीले एनआइएमबी एस क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया