जाँदा पट्ठो केटो फर्कंदा बैँसालु सुन्दरी

jorgensen६० वर्षअघिको एउटा घटना । संसार चकित खायो । नेपालका धुरन्धर बूढाहरूले त विश्वासै गरेनन् होला– ‘कहीँ यस्तो पनि हुन्छ ? असम्भव †’ अनि पशुपति छेउछाउ गेरुवस्त्र पहिरिएर रुमल्लिरहेका धर्मभीरुहरू आकाशतिर दुई हात फैलाउँदै कराए होलान्– ‘घोर कलि † यो त प्रकृतिविपरीत भयो, प्रभु † संसारलाई बचाऊ †’ कतिलाई चाहिँ दन्त्यकथा सुनेजस्तो पनि लाग्यो कि † थुप्रै वैज्ञानिकले चाहिँ उत्सव मनाए होलान्, विज्ञानले एउटा नयाँ चमत्कार जन्माएकोमा ।

सन् १९५२ को त्यो दिन न्युयोर्क हवाई स्टेसनमा आयरल्यान्डबाट आएको एउटा प्लेन ल्यान्ड भयो । स्वाभाविक रूपमा यात्रुहरू झर्न थाले । त्यही लहरमा झर्दै थिइन्, एउटी सुन्दरी । चिटिक्क मिलेको ‘ग्ल्यामरस’ शरीर, सुहाउँदो लेडिज कोट अनि सुनौलो कपाल । साँच्चै, ती सुन्दरीको उन्मादिलो बैँस देखेर नजिकै उभिइरहेका जवान पुरुष मनहरू कटक्कै भए होलान् । ती सुन्दरीका मनमा चाहिँ प्रशस्तै जिज्ञासा हुँदा हुन्– ‘अब मानिसहरूले कस्तो व्यवहार गर्लान्, साथीहरूले चिन्लान् कि नचिन्लान् † मैले आफ्ना थुप्रै व्यवहार पनि परिवर्तन गर्नुपर्ला कि †’ केही दिनअघिसम्म उनको शरीर अर्कै थियो, अंगहरू अर्कै थिए । उनको ज्यानमा पुरुषका कपडा हुन्थे । नयाँ सुन्दरीको आवरण भिरेको त्यो शरीरभित्रको मनचाहिँ परिवर्तित थियो कि थिएन होला ? कम्तीमा पनि उनलाई आफ्नो स्वभाव र चाहनाअनुसारको शरीर भेटेकोमा अपार सन्तुष्टिचाहिँ पक्कै थियो । सम्झेर लजाइन् होला– ‘अब आफ्नै मन अनि स्वभावसँग सुहाउने यौनसुख लिन पाउँछु ।’ जिन्दगीलाई नयाँ सिराबाट सुरु गर्न योजनाका ताँती मडारिइरहेका हुँदा हुन् उनको दिमागभरि ।
तुरुन्तै मानिसहरूको ध्यान त्यति बेलाको एउटा समाचारले तान्यो । अमेरिकाको एउटा चर्चित पत्रिकामा लेखिएको थियो– ‘पूर्वसैनिक बने सुनौलो केश भएकी सुन्दरी †’ हो, ती व्यक्ति डेनमार्कबाट आफ्नो लिंग परिवर्तन गरेर फर्किरहेका थिए । न्युयोर्क एयरपोर्टबाट बाहिरिएर आफन्त अनि साथीसंगीलाई भेट्न हतारिँदै थिए । वातावरण अनि वस्तुस्थितिहरू जस्ताको तस्तै, उस्तै थियो उनको सहर । फरक थियो त केवल उनको शरीर, जो भर्खरै ‘पुरुष’बाट ‘स्त्री’ बनेको थियो । केही दिनअघिसम्म जर्ज जोर्गेन्सन नामले चिनिने उनी अब चिनिन चाहन्थे स्त्री नामबाट । पुरुष शरीरसँगै पुरुष नामलाई पनि तिलाञ्जली दिएपछि २७ वर्षीय मिस्टर जोर्गेन्सन अब बनेका थिए, मिस क्रिस्टिन † लिंग परिवर्तनको परीक्षण सफल भएका विश्वकै पहिलो व्यक्ति उनै थिए । यद्यपि लिंग परिवर्तन अहिले पनि बहसको मुद्दा बनिरहेको हुन्छ, थुप्रै प्रगति हात परिसकेका पनि छन् ।
कलाकार सन्तोष पन्तका छोरा प्रतीक थाइल्यान्डबाट छोरी ‘केटलिन’ बनेर फर्केपछि नेपालीका लागि पनि यी र यस्ता दृष्टान्त नौला रहेनन् । महाभारतकालीन युगमा अर्जुन श्रापवश वृहन्नला (तेस्रोलिंगी) भएको दृष्टान्तलाई दैवीशक्तिको सामथ्र्यका रूपमा मात्र विश्वास गर्ने ‘अन्धभक्त’ हरू पनि पत्याउन बाध्य भए– मान्छेले पनि यस्तो सामथ्र्य देखाउन सक्दा रहेछन् ।
जोर्गेन्सन र आधुनिक समयमा लिंगपरिवर्तन गर्नेहरूका बीच सुविधाका दृष्टिले ठूलै फरक बनिसकेको छ । लिंग फेरिए पनि नारीका रूपमा बच्चा जन्माउने सुविधा उनका लागि आविष्कार भइसकेको थिएन । अहिले त पाठेघर प्रत्यारोपण पनि हुन्छ । ‘अब महिनाका चार–पाँच दिन त निकै सास्ती होला † साँच्चै मिन्स हुँदा कस्तो हुन्छ होला ? केही छैन, पक्कै त्यसको पनि आफ्नै खाले सुखानुभूति होला † यसले मेरा लागि प्राकृतिक सिर्जनाको नयाँ ढोका खोलिदिनेछ, प्रजनन सुख दिलाउनेछ, आफूजस्तै उत्तराधिकारी संसारलाई उपहार दिन सक्षम बनाउनेछ । अन्यथा, केही दिनअघिको बन्जर शरीरसँग त्यो क्षमता कहाँ थियो र ?’ साँच्चै, जोर्गेन्सनले आजको जमानामा लिंग परिवर्तन गराएका हुँदा हुन् त उनका प्रतिनिधि कल्पना यस्ता हुन्थे होलान् । यद्यपि, उनका हकमा रुखा सपना मात्रै बने यी अनुभूति । तर, जुन सफलता हात पर्‍यो, त्यति मात्रै पनि अद्वितीय थियो, तात्कालिक समयका लागि । मानवीय लिंग परिवर्तनमा सफलता मिलेको यो पहिलो घटना अब ६० वर्ष पुगिसकेको छ । सन् १९५२ मा जोर्गेन्सनको अंग बदल्न अपरेसनका साथै हर्मोनथेरापी गरिएको थियो ।
शान्त स्वभावका थिए, जोर्गेन्सन । सुखपूर्वक बितेको थियो उनको बालापन । तर, किशोरवयमा प्रवेश गरेपछि उनलाई आफ्नो शरीरमा के नमिले के नमिलेजस्तो लाग्न थाल्यो । स्वभाव र शरीरबीच तालमेलै नमिलेजस्तो । उनले ठहर्‍याए, ‘म पक्कै पनि एउटा गलत शरीरभित्र बन्दी भएको छु ।’ पुरुष भए पनि मनले उनलाई बारम्बार झकझक्याउँथ्यो, ‘तँ केटी होस् ।’
जोर्गेन्सनले आफ्नो आत्मकथामा लेखेका छन्, ‘हो, पुरुषका रूपमा छँदा मलाई पुरुषप्रति नै आकर्षण जाग्थ्यो तर जब पुरुषहरू यौनसम्बन्धको प्रस्ताव गर्थे, त्यो पनि मलाई नरमाइलो लाग्थ्यो । चुकचुकाउँथेँ– यदि मेरो अन्तरात्मा पुरुषप्रति आकर्षित हुन्छ भने प्राकृतिक रूपमा म केटी नै हुनुपर्ने होइन र † वास्तवमै मेरो अन्तरात्मा र बाहिरी स्वरूप एकअर्कासँग पटक्कै तालमेल खाँदैनथे ।’ क्रिस्टिन बनेपछि उनीबारे सन् १९८० मा चलचित्र बनाएका डा. टिट रिट्जाउले पुराना तस्बिर हेर्दा जोर्गेन्सन पुरुष समलिंगीजस्तो देखिने गरेको बताएका थिए । उनले भने, ‘तर उनले कहिल्यै आफूलाई समलैंगिक व्यवहारसँग जोडेनन्, उनी आफूलाई पुरुष शरीरभित्र बन्दी बनेर रहेकी ‘महिला’ मान्थे ।’
सन् १९४० दशकको केही समय जोर्गेन्सनले सेनामा बिताए । त्यही बेला डेनिस डाक्टर क्रिस्टियन हेमबर्गरको एउटा लेखले उनको ध्यान तान्यो । त्यसमा लेखिएको थियो– डा. हेमबर्गर जनावरको हर्मोन परीक्षण गरेर लिंग परिवर्तन थेरापी प्रयोग गर्दै छन् † जोर्गेन्सनका मातापिता डेनिस मूलकै भएकाले उनका लागि डेनमार्क जानु नौलो थिएन । न त आशंकापूर्ण । सन् १९५० मा उनी डेनमार्कतिर लागे तर कसैलाई बताएनन् कि उनी किन जाँदै छन् । जोर्गेन्सनले एउटा अन्तर्वार्तामा बताएका थिए, ‘त्यति बेला धेरै मान्छेले मलाई पागल भने तर डा. हेमबर्गरले बुझेका थिए, ‘मभित्र केही अनौठो कुरा जोडिएको छ ।’ एक वर्षसम्म चल्यो हर्मोनथेरापी । त्यसपछि उनको अपरेसन सुरु भयो । डाक्टरलाई चुनौती थियो– पुरुष जननेन्द्रियलाई महिला जननेन्द्रियमा परिवर्तन गर्नु ।
त्यसो त त्यसको दशकौँअघिदेखि पनि थुप्रै सर्जनहरूले लिंग परिवर्तनलाई सफल बनाउन अनेकौँ कोसिस नगरेका होइनन् । हेमबर्गरको टिमले विगतमा भएका तिनै अनुसन्धानलाई आधार बनाएर जोर्गेन्सनमाथि थेरापी सुरु गरेको थियो । भनिन्छ– लिंग परिवर्तनको पहिलो चिकित्सकीय प्रयास सन् १९३० मा बर्लिनमा भएको थियो । जर्मनीका इनार मोगेन्स वेगेनरलाई जर्मन डाक्टर म्याग्नस हस्र्चफेल्ड र कर्ट वार्नेक्रोसले ‘महिला’ बनाउने प्रयास गरेका थिए । वेगेनर महिला–पुरुष दुवैको स्वभाव देखाउँथे र अपरेसनमार्फत पूरै महिला बन्न चाहन्थे । चिनिन चाहन्थे– लिली एल्बे नामबाट । विडम्बना † उनको शरीरले लिंगपरिवर्तनलाई अस्वीकार गरिदियो । सन् १९३१ मा उनको मृत्यु भयो । तर, त्यो घटनाले पाठ भने कायम गर्‍यो, त्यसका कमीकमजोरी पछिल्लो प्रयासमा दोहोरिन नदिन । अनि, यो पाठ जोर्गेन्सनमाथिको परीक्षणका क्रममा डेनिस सर्जनहरूको टोलीलाई पनि पक्कै काम आएको थियो ।
जोर्गेन्सनमाथि डक्युमेन्ट्री बनाएका टिट रिट्जाउ सुनाउँछन्– ‘वास्तवमै यो चमत्कार थियो । त्यसैले त जोर्गेन्सन निकै उत्साही थिए, उनको अनुहारमा स्पष्टसँग अपार सन्तुष्टि पढ्न सकिन्थ्यो ।’ हुन त जोर्गेन्सनले पछिसम्म पनि आफ्नो शारीरिक संरचनाबारे उति धेरै खुलाएका छैनन् तर थुप्रै अन्तर्वार्तामा उनले लिंग परिवर्तनपछि आफूमा नयाँ ऊर्जा र स्फूर्ति बढेको चर्चा गरेका थिए । सन् १९५८ को एक अन्तर्वार्तामा भनेका छन्, ‘म बच्चा जन्माउन सक्दिनँ, यसमा कुनै शंकै छैन । तर, अब धित मर्ने गरी प्राकृतिक सहवास त गर्न सक्छु नि † केटा भएर केटासँगै सहवास गरेको आरोप अब मलाई कसैले लगाउन सक्दैन ।’ लिंग परिवर्तनपछि उनले आफ्ना मातापितालाई चिठी लेखेका थिए, ‘विधाताले गरेको गल्तीलाई मैले सुधारिदिएको छु, अब म तपाईंहरूकी छोरी भएकी छु ।’ त्यसो त छोरीका रूपमा पनि परिवारले उनलाई उत्तिकै माया दियो । साथ–सहयोग गर्‍यो ।
डेनमार्कबाट लिंग फेरेर अमेरिका फर्किएपछि सुन्दरी क्रिस्टिनको चर्चा शिखरमा पुग्यो । विभिन्न समारोहका मुख्य आकर्षण उनै बनिन् । फिल्म नगरी हलिउडले पनि उनलाई हात फैलाएरै स्वागत गर्‍यो । यी पूर्वसैनिकलाई अब नाटक अनि फिल्म खेल्ने प्रस्ताव ओइरिन थाले । विशेष पार्टीहरूमा उनको उपस्थिति अनिवार्य महत्त्वको मानिन थाल्यो । हलिउडसँगै व्यक्तिगत जिन्दगीमा पनि निकै सफल भइन् उनी । यद्यपि उनले वैधानिक विवाहसम्बन्धको अनुभव भने जीवनपर्यन्त लिन पाइनन् । विवाहको पहिलो प्रयास टीकाटालोमा पुगेर तुहियो । दोस्रो सम्बन्ध पनि बिहे दर्ताको प्रक्रियासम्म मात्र पुग्न पायो । रजिस्ट्रार कार्यालयले उनलाई बिहेको अनुमति दिएन । किनकि जन्म प्रमाणपत्रमा उनलाई ‘पुरुष’ उल्लेख गरिएको थियो । र, त्यो जमानामा अमेरिकामा पनि पुरुषले पुरुषलाई बिहे गर्न पाउने कानुन बनेकै थिएन ।
‘यसै कारण उनले आफ्नो पूरै जीवन एक्लै बिताइन् तर दु:खी भने कहिल्यै भइनन्’, रिट्जाउ सुनाउँछन्, ‘सन् १९८९ मा ६२ वर्षको उमेरमा उनको निधन भयो ।’ मृत्युको एक वर्षअघि उनी आफूलाई नयाँ शरीर दिलाउने डाक्टरहरूलाई भेट्न डेनमार्क पुगिन् । सो क्रममा मिडियासँग भनेकी थिइन्, ‘ममाथि भएको लिंग परिवर्तनको यो सफलता वास्तवमै कोसेढुंगा साबित भएको छ ।’ (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया