तनहुँमा स्वाइन फिभर रोगले १६ वटा बंगुर मरे

तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँमा बंगुर मर्न थालेका छन् । विगत एक महिना अघिदेखि जिल्लामा यो रोग देखापर्न थालेको हो । जिल्लाका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यासगरी तीन नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको हो ।

जिल्लामा १६ बंगुर मरिसकेका र २२ बंगुर बिरामी अवस्थामा रहेका छन् । प्रयोगशालामा नमुना परीक्षण गर्ने क्रममा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका अधिकृत रुद्रसिंह ठकुरीले जानकारी दिए ।

भिमादमा १९ बंगुरमा संक्रमण देखिएकामा १४ बंगुर र शुक्लागण्डकी नगरपालिकामा दुईमा संक्रमण देखिएकामा दुईवटै गरी १६ वटा बंगुर मरिसकेका छन् । त्यसैगरी व्यासमा केही फार्ममा बंगुर बिरामी भएको जानकारी पाएपछि कार्यालयबाट पशु चिकित्सकसहितको टोली पठाइएको छ । सबैभन्दा बढी भिमाद यो रोगबाट प्रभावित भएको छ । जिल्लामा १३ हजार ५०० कृषकले ४० हजार बंगुर पालेको तथ्यांक रहेको छ ।

अफ्रिकन स्वाइन फिभर रोग किर्नाको टोकाइबाट, दूषित दानापानीबाट, संक्रमित भाँडाकुँडा तथा कपडाबाट र संक्रमित सुईबाट सर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन् । महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको केन्द्रका प्रमुख डा राजेश चौधरीले बताए ।

बाह्य मानिसलाई फार्ममा जान नदिन र बंगुर तथा सुँगुर ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । उनले भने, ‘केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान थालेको छ ।’ उक्त रोगविरुद्ध हालसम्म कुनै भ्याक्सिन नबनेकाले संक्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बंगुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने, एकैपटक धेरै सुँगुर बंगुर बिरामी पर्ने तथा सर्नेजस्ता लक्षण हुने डा चौधरीले बताए ।

प्रतिक्रिया