काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका छन् । राजेन्द्रले बिहीबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । एपिएफलाई अपराजित राख्दै च्याम्पियन बनाएकी गोलकिपर सावित्री किशनले भने अन्तिम टोलीमा स्थान पाइनन् ।
सावित्रा नै महिला लिगको उत्कृष्ट गोलरक्षक घोषित हुँदै ५० हजार रुपैयाँसमेत हात पारेकी थिइन् । उनी नेपाली उमेरसमूहबाट एपिएफसम्म पुगेकी हुन् । मुख्य गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्ब व्यावसायिक लिग खेल्न ग्रिस प्रस्थान गरेसँगै एपिएफले १७ वर्षीया सावित्रीलाई गोल पोस्टको जिम्मेवारी सुम्पिएको थियो । उनले उक्त जिम्मेवारी सफलतापूर्वक निभाएकी थिइन् ।
उनले १० खेलमा ‘क्लिन सिट’ राखेकी थिइन् । यस्तै, लिगभर जम्मा गोल मात्रै खाएकी थिइन् । अन्तिम टोलीमा भने राजेन्द्रले अनुभवी गोलकिपरलाई नै निरन्तरता दिएका छन् ।
यसपल्ट पनि कप्तान अञ्जिलासँगै अञ्जना रानामगर र उषा नाथले टोलीमा स्थान बनाएका छन् । एन्फा एएफसी एसियन कप र फिफा विश्वकपको तयारीस्वरूप फिफा अन्तर्राष्ट्रिय विन्डोमा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप गराउन लागेको हो ।
५ फागुनदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबननले सहभागिता जनाउनेछ । नेपालले ५ फागुनमा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
मुख्यप्रशिक्षक राजेन्द्र तामाङले मनमाया दमाई र सुस्मा तामाङलाई पहिलोपल्ट राष्ट्रिय टोलीमा मौका दिएका छन् । यस्तै, रेनुका हमला र चन्द्रा भण्डारीले टोलीमा पुनरागमन गरेका छन् ।
टोलीको गोलरक्षकमा एन्जिला तुम्बाहाम्पे, अञ्जना राना मगर र उषानाथ छन् । रक्षकमा अमृता जैसी, गीता राना, विमला विके, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई छन् ।
मिडफिल्डमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रिती राई, सरु लिम्बु, सबिता राना मगर, रेनुका हमाल र शुष्मा तामाङ छन् । फरवार्डमा सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।
एन्फा एएफसी एसियन कप र फिफा विश्वकपको तयारीस्वरूप फिफा अन्तर्राष्ट्रिय विन्डोमा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप गराउन लागेको हो ।
सो इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपबाट २ करोड बढी कमाउने भएको छ । प्रतियोगिताको टेलिभिजन ब्रोडकास्टिङ, मार्केटिङ, टिकेटिङ र डिजिटल राइट्स ब्रान्ड डिजिटल लोजिक प्रालिलाई एन्फाले प्रदान गरिसकेको छ ।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार छुट्टाछुट्टै टेन्डरमार्फत राइट्स बिक्री गरिएको छ । ‘टिकट १ करोड ३५ लाखमा बेचेका हौँ । ब्रोडकास्टिङ र मार्केटिङलगायत अन्य राइट्स भने ६६ लाख ६६६ मा बेचेका हौँ’, उनले भने । गत कात्तिकमा यही मैदानमा भएको साफ महिला च्याम्पियनसिप २०२४ को टिकेटिङ राइट्स एन्फाले माउन्ट एभरेस्ट स्पोट्र्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा बेचेको थियो । एन्फाले टेलिभिजन ब्रोडकास्टिङ, मार्केटिङ र डिजिटल राइट्स भने एडी रिलिजलाई २५ लाख रुपैयाँमा बिक्री गरेको थियो । यसपल्ट भने एन्फाले ५० प्रतिशत लिइसकेको प्रवक्ता शाहले बताए । बाँकी रकमको चेक पनि एन्फाले लिइसकेको उनले बताए ।
प्रतिक्रिया