काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) का महानिरीक्षक पल मार्टिनलाई बर्खास्त गरेका छन् । राष्ट्रपति ट्रम्पले उनलाई बर्खास्त गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
वासिङ्टन पोस्ट, सिएनएन र अन्यले रिपोर्ट गरेअनुसार मार्टिनको बर्खास्ती राष्ट्रपति कार्यालयले युएसएआइडीलाई विघटन गर्ने ट्रम्प प्रशासनको प्रयासको आलोचना गर्ने गरी प्रतिवेदन जारी गरेको एक दिनपछि भएको हो । ती सञ्चारमाध्यमले ह्वाइट हाउसबाट मार्टिनलाई मंगलबार पठाइएको २ वाक्यको इमेललाई उद्धृृत गरेका छन् ।
इमेलमा निर्णयको कारण बताइएको थिएन । तर, उनको पद तत्काल लागू हुने गरी समाप्त भएको जनाइएको थियो । यसको १ दिनअघि मात्र मार्टिनले युएसएआइडीलाई सहयोग रोक्का गर्ने ट्रम्पको निर्णयको आलोचना गरेका थिए । ट्रम्प प्रशासनले सहयोग बन्द गर्ने निर्णयसँगै युएसएआइडीसँग रहेको ४८ करोड ९० लाख डलरभन्दा बढीका खाद्यान्न सहायता बिग्रिने जोखिम रहेको उनको कार्यालयको प्रतिवेदनले चेतावनी दिएको थियो ।
यसअघि नै ट्रम्पले विभिन्न निकायका १८ जना महानिरीक्षकलाई बर्खास्त गरिसकेका थिए । उनीहरू संघीय सरकारका स्वतन्त्र निगरानीकर्ता थिए । अहिले बर्खास्त भएका मार्टिन ट्रम्पका पूर्ववर्ती जो बाइडेनले नियुक्त गरेका हुन् । गत महिना आफ्नो दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले विश्वका सबैभन्दा धनी व्यक्ति र आफ्ना प्रमुख दाता एलन मस्कको नेतृत्वमा अमेरिकी सरकारका विभिन्न अंगलाई कम गर्न वा विघटन गर्न अभियान सुरु गरेका छन् ।
सबैभन्दा बढी निशाना युएसएआइडीमाथि केन्द्रित छ । यो निकाय करिब १२० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रमहरू सञ्चालन गर्दै विश्वभर अमेरिकी मानवीय सहायता वितरण गर्ने प्रमुख संस्था हो । युएसएआइडीले ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्छ । यो विश्वभर वितरित मानवीय सहायताको ४२ प्रतिशत हो । चीनलगायत प्रतिद्वन्द्वीहरूसँगको प्रभावका लागि संघर्षमा संयुक्त राज्य अमेरिकाका लागि सफ्टपावरको महत्वपूर्ण स्रोतका रूपमा यसलाई हेरिएको थियो ।
ट्रम्प प्रशासनले विदेशी सहायता रोकेको छ, हजारौँ अन्तर्राष्ट्रिय आधारित कर्मचारीलाई संयुक्त राज्य अमेरिका फर्किन आदेश दिएको छ र युएसएआइडीका १० हजार कर्मचारीको संख्या घटाएर करिब ३०० मात्रै कायम गराउन थालेको छ ।
प्रतिक्रिया