अमेरिकाले ९० दिन अन्य देशलाई सहयोग बन्द गर्ने

काठमाडौँ । अमेरिकाले ९० दिनका लागि अन्य देशहरूमा सम्पूर्ण सैन्य, आर्थिक तथा मानवीय सहयोग रोक्ने निर्णय गरेको छ । सम्बन्धित सबै निकायलाई विदेश मन्त्रालयले यसबारे परिपत्र पठाइसकेको छ ।

अमेरिका संसारको सबैभन्दा ठुलो दाता तथा सहयोगी राष्ट्रका रूपमा रहँदै आएको थियो । सन् २०२३ को सरकारी डेटाअनुसार अमेरिकाले सो वर्ष विभिन्न देशमा ६८ अर्ब अमेरिकी डलर बराबरको सहयोग गरेको थियो । अमेरिकाको यो निर्णयले संसारका धेरै देशलाई असर गर्ने जनाइएको छ । विदेश मन्त्रालयले गरेको सर्कुलरअनुसार अहिलेको यो निर्णय विकास रकमदेखि सैन्य सहयोगसम्मका लागि हो । अहिलेसम्म गरिएका सबै कामको पुनर्मूल्यांकन गरेर मात्र निर्णयमा परिमार्जन गर्ने बताइएको छ ।

सर्कुलरअनुसार अहिले वैदेशिक सहयोगमा भएका सबै कामको रिपोर्ट ८५ दिनभित्र ट्रम्प प्रशासनलाई बुझाइसक्नुपर्नेछ । यो नियमको अपवादमा इजरायल र इजिप्टमा भने सैन्य र मानवीय सहयोग निरन्तर रहने जनाइएको छ । अमेरिकी विदेशमन्त्री मार्क रुबियोले यसअघि नै अमेरिका फेरि सुरक्षित, बलियो र समृद्ध नभई अरूलाई सहयोग गर्नुको अर्थ नरहने बताउँदै आएका थिए ।

युएस एजेन्सी अफ इन्टरनेसनल एड (युएसएड) का मध्यपूर्वका लागि पूर्वनिमित्त निर्देशक डेभ हार्डेनले यो निर्णय अर्थपूर्ण रहेको बताएका छन् । अहिले प्रतिबन्धित भए पनि यसको मूल्यांकनपछि फेरि लागू हुने उनको विश्वास छ । यसले खानेपानी, आवास तथा फोहोर व्यवस्थापनको विषयमा संसारमा सहयोग पाउँदै आएका धेरै देशमा प्रभाव पार्नेछ । हार्डेनले अहिले सुरु गरिसकेका परियोजना जारी रहने अपेक्षा गरेका छन् । साथै उनले काम गरिरहेका कामदारको तलब पनि यो पुनर्मूल्यांकनको समयमा नरोकिने बताएका छन् ।

रुबियोको सर्कुलरमा आपत्कालीन खाद्यान्न सहयोगमा भने सोच्न सकिने कुरा उल्लेख गरेका छन् । यो निर्णय कांग्रेसका रिपब्लिक सदस्यहरूको दबाबपछि भएको जनाइएको छ । ९० दिनपछि कुनै सहयोग निरन्तर रहने र कुनै सहयोग बन्द गरिने अनुमान गरिएको छ ।

प्रतिक्रिया