जनकपुरधाम । मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मधेस सरकारद्वारा आयोजित बलिदानी दिवस समारोहमा सहिद परिवारले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आफूलाई लगाइएको खादा र दिइएको पैसासमेत फालेर आक्रोश पोखेका थिए ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत मधेस सहित प्रतिष्ठानले जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजन गरेको समारोहमा केही सहिद परिवारले खादा र आउनेजाने भाडा स्वरुप दिइएको रकम फालेका हुन् । सरकारले बलिदानी दिवसको अवसरमा मधेस आन्दोलनका सहिदको सम्मानस्वरुप प्रतिपरिवार ३ लाख, गम्भीर घाइतेहरूलाई २ लाख तथा घाइतेहरूलाई अवस्था हेरेर १ लाख ५० हजार र १ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
तर, कार्यक्रममा आफूहरूलाई दोसल्ला ओढाएर १÷१ हजार रुपैयाँ दिइएपछि उनीहरूले आफूहरूको अपमान गरेको भन्दै विरोध जनाएका हुन् । रोजगारी दिने आश्वासन दिएर ठगेको र अहिले सम्मान गर्ने भनेर बोलाएर अपमान गरेको भन्दै सहिद परिवारका सदस्य आक्रोशित बनेका थिए । अवस्था अशान्त बनेपछि मुख्यमन्त्री सिंहले आक्रोशलाई सम्मान गर्दै समस्याहरुको सम्बोधन गर्ने आश्वासन दिए ।
‘कर्मचारी साथीहरूलाई पनि समस्या छ । अहिले प्रक्रिया पुगेन भने आर्थिक वर्षको अन्त्यमा सबै बेरुजु ठहर भइहाल्छ । यहाँ व्यवस्थित तरिकाले यातायात खर्च वितरण गरेको भए यति ठुलो समस्या नै हुने थिएन,’ उनले भने, ‘तपाईंहरूको आक्रोशको पनि सम्बोधन हुन्छ ।’ जनमत पार्टीले चुनावी घोषणापत्रमा पनि आन्दोलनका सहिद र घाइतेका परिवारलाई रोजगारी उपलब्ध गराउने विषय उल्लेख गरेको थियो ।
सरकारले भने सहिद परिवारलाई दिने भनिएको रकम उनीहरूको बैंक खातामा पठाउने निर्णय गरेको थियो । कार्यक्रमको अन्त्यमा यो घोषणा गर्ने तयारीमा रहेका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदर्शन हुन थालेपछि उनीहरूलाई सम्झाएका थिए । मुख्यमन्त्रीले खातामै रकम पठाउने भनेपछि भने उनीहरू शान्त भएका थिए ।
उनले सहिद परिवार तथा घाइतेहरूका लागि सरकारले चालु आर्थिक वर्षमा ३ करोड ६१ लाख रुपैयाँ छुट्याएको जानकारी दिए । शहीद परिवारका लागि बिमा कार्यक्रम तथा बच्चाहरूको उच्च शिक्षाका लागि छात्रवृति कार्यक्रमसमेत अघि सारिएको मुख्यमन्त्री सिंहले बताए ।
५ माघ, २०६३ मा आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतो मारिएपछि मधेस आन्दोलनले आकार लिएको थियो । सोही आन्दोलनको बलमा देश संघीयतामा गएको र मधेस प्रदेश बनेको सम्झनामा हरेक वर्ष माघ ५ गते मधेस सरकार र मधेस केन्द्रित दलहरूले बलिदानी दिवस मनाउँदै आएका छन् ।
‘अधिकारजति संघ सरकारले राखेको छ’
मधेसका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेश सरकार बनाइए पनि त्यसको हात, खुट्टा, मुख संघ सरकारले बाँधेर राखिदिएको गुनासो गरे । मधेस आन्दोलनको बलमा देश संघीयतामा गए पनि धेरैजसो अधिकार प्राप्त नभएकै कारण प्रदेश सरकारले चाहेर पनि धेरै काम गर्न नसकेको उनले बताए ।
‘सहिदको बलिदानीका कारण देशमा संघीयता आएको छ । संविधानमा धेरै अधिकार सुनिश्चित गरिएकोे छ, तर अझै पनि हामी धेरै अधिकारबाट वञ्चित छौँ । ठुला उद्योग हामी सञ्चालन गर्न पाउँदैनौँ, किनकि यसको स्वीकृति संघ सरकारबाट पाउने नीति छ,’ उनले भने ।
जनकपुर
प्रतिक्रिया