सहकारीको नाममा ठगीधन्दा : बिनाधितो ऋण दिएर वर्षौंदेखि लाखौँ रुपैयाँ अपचलन

रुकुमपश्चिम । देशैभर सहकारी ठगीका घटना बढिरहेका बेला ग्रामीण क्षेत्रका सहकारी पनि अछुतो छैनन् । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा रहेको आठबिसकोट वचत तथा ऋण सहकारी संस्थामा डेढ करोड बढी रकम हिनामिना भएको छ ।

सहकारीमा बचतकर्ताले दैनिक, मासिक रूपमा जम्मा गरेको रकम सहकारीले फिर्तासमेत गरेका छैनन् । १७९ जनाले दैनिक, मासिक वचत गरेको ब्याजबाहेक ४ लाख ७८ हजार रकम तुरुन्तै फिर्ता गर्न छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरिएको छ । आठबिसकोट नगरपालिकाले गत असोजमा देवबहादुर घर्तीको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिले आइतबार प्रतिवेदन सार्वजनिक गरेको छ । वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम, सञ्चालक समिति र व्यवस्थापक, लेखा समिति समेतको गैरजिम्मेवारीले अपचलन भएको रकम बचतकर्ताले फिर्ता पाउन नसकेको समितिको ठहर छ ।

उक्त संस्थाले बिनाधितो ऋण दिएर सावा र व्याज असुल गर्न नसक्दा करोडौँ रुपैयाँ डुबेको छानविन समितिका अध्यक्ष घर्तीले जानकारी दिए । उनका अनुसार बिनाधितो लाखौँ ऋण दिएको तर ऋण असुल गर्न नसकेको, सहकारी अनियमित रूपमा सञ्चालन भएको र सञ्चालक, व्यवस्थापन र लेखा समितिको गैरजिम्मेवार भएर कर्तव्य पूरा नगर्दा सहकारी समस्याग्रस्त भएको बताए ।

प्रतिवेदनमा सहकारीको वित्तीय अवस्थाको विस्तृत अध्ययन तथा विश्लेषण गरिएको र सस्थाले बचतकर्ताको रकम अपचलन भएको पाइएको उनले बताए । कार्यालय बन्द अवस्थामा भए पनि वचतकर्तालाई भने सहकारीले रकम फिर्ता गरेको छैन ।

सहकारीको रकम फिर्ता गर्न समितिले उल्लेख गरेको छ । सहकारीलाई आठबिसकोट नगरपालिकाले विभिन्न शीर्षकमा १ करोड ७२ लाख रुपैयाँ दिएको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये २०७५ सालमा शैक्षिक कर्जा पाइलट अध्ययन गर्न गोविन्द केसी र ललित भण्डारीलाई ५०–५० लाख रुपैयाँ, घरेलु तथा साना उद्यम कर्जा ४८ लाख र विपन्न सेयरका लागि ३३ लाख ६५ हजार रुपैयाँ दिइएको छ । तर उक्त रकम अहिलेसम्म सहकारीले असुल गर्न सकेको छैन । ९५६ जना सेयर सदस्य रहेको संस्थाको कुल ५ करोडको पुँजी रहेको आठबिसकोट सहकारी संस्था केही वर्ष यता बन्द अवस्थामा छ ।
सहकारीका अध्यक्ष हरिप्रसाद शर्माले भने, ‘कार्यालयले ऋण लिएका व्यक्ति र संस्थालाई पटकपटक ताकेता गर्दा पनि अटेरी गरिरहेका छन् । बचतकर्ताको पैसा फिर्ता हुन्छ । लिएको ऋण रिकभरी गर्न नसक्दा सबै बचतकर्ताको एकमुष्ठ रकम फिर्ता गर्न गाह्रो भएको छ । हामी पनि ऋण नतिर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउछौँ । सञ्चालक समितिबाट कुनै पनि रकम तलमाथि भएको छैन् ।’

व्यक्तिगत रूपमा खर्च गरेर गाउँलेको रकम हिनामिना नभएको उनले बताए । उनका अनसार केही बदमासी गर्ने व्यक्ति र संस्थाले गर्दा सहकारीमा समस्या देखिएको हो । उक्त सहकारीमा स्थानीयले श्रमपसिना गरेर, बाख्रापाठा, अन्नपात बेचेर र विदेशमा कमाएको रकम बचत गर्ने गरेका थिए ।
सहरतिरका सहकारीमा रकम ठगी भए पनि गाउँकै व्यक्तिले गाउँमै खोलेको सहकारीबाट रकम अपचलन हुन्छ भनेर कल्पना पनि नगरेको त्यहाँका बचतकर्ताले बताएका छन् । २०७४ चैत १८ गते आठबिसकोट वचत तथा सहकारी कार्यालय, आठबिसकोट नगरपालिकाको सहकारी ऐन २०७४ बमोजिम दर्ता भइ सञ्चालमा आएको उक्त सहकारीमा १५० जना बढी बचतकर्ताले दुःख पसिना गरेर कमाएको रकम बचत गरेका थिए । संस्थाले ऋण दिएको १ करोड ६१ लाख रकम चुक्ता गर्न सकेको छैनन् । दैनिक बचत गर्ने ६९ जनाको १ लाख ७५ हजार र मासिक ११० जना बचतकर्ताको ३ लाख ३ हजार रुपैयाँ वचत गरेका छन् ।

आठबिसकोट सहकारीको छानबिन समितिले प्रतिवेदन आठबिसकोट नगरपालिकामा पेस गरेपछि न्यायिक समितिलाई अनुसन्धानको लागि बाटो खुलेको छ । न्यायिक समितिका संयोजक धनकुमारी शाहीले भनिन्, ‘हामी छानबिन समितिको प्रतिवेदनको पर्खाइमा थियौँ । प्रतिवेदन आइसकेको छ । सहकारीलाई थप अनुसन्धान र प्रतिवेदनका आधारमा चाँडै टुंगो लाग्ने छ ।’ शाहीका अनुसार न्यायिक समितिले उक्त सहकारीको छानबिन गरेर टुंगो लगाउने छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया