काठमाडौँ । प्युठानबाट कलाकार बन्न काठमाडौँ हानिएका ऋषि खड्का संगीतमा खारिएका छन् । प्युठान जिल्लाको माण्डवी गाउँपालिका–५ मा जन्मिएका खड्का सानै उमेरदेखि संगीतप्रेमी थिए । सानैदेखि मादलको तालमा झुम्दै आएका खड्काले काठमाडौँमा आएका संगीतबाटै अघि बढेको बताए ।
गीतसंगीत भनेपछि हुरुक्क हुने खड्काले स्कुले जीवनमा धेरै गीतहरू आफ्नो विद्यालयको प्रांगणलाई नै पहिलो स्टेज आफ्ना साथीभाइलाई दर्शक, गुरु र गुरुआमालाई निर्णायक बनाएरै धेरैपटक सुनाएको उनको भनाइ छ ।
‘प्रायः गीतसंगीतमा लागेका गायक गायिकालाई कसरी सुरुआत भयो सांगीतिक यात्रा अथवा म गीत गाउनमै फिट छु यसैमा छ मेरो भविष्य भन्ने प्रश्नमा स्कुलको प्रांगण नसम्झिने कमै होलान्’, संगीतकार खड्काले भने ।
विद्यालयमा हरेक शुक्रबार कार्यक्रम हुने र त्यहाँ आफूले अरूका शब्द र लयमा रहेका गीतभन्दा आफैँले लेखेर, लय भरेर सुनाउने गरेको खड्काले बताए । त्यस समय गीत सुनाउँदा कहीँ सुनेको नहुने र अरूभन्दा आफू फरक छु भन्ने लागेको उनले बताए ।
अरूभन्दा आफू फरक बनेर सांगीतिक क्षेत्रमा आफ्नो भविष्य खोज्दै उनी एसएलसीपछि बाँकी पढाइ र सांगीतिक सपना पूरा गर्न बुबाआमा र विद्यालयका शिक्षकहरूको आशीर्वाद लिएर काठमाडौँ आइपुगेको खड्काले सुनाए । काठमाडौँ आएपछि संगीतकार लक्ष्मण भण्डारीको सहयोगमा परिवेश रेकर्डिङ स्टुडियोमा १७ वर्षको उमेरमै आफ्नै लय शब्दमा ‘जान्छु परदेश’ नामको गीत रेकर्ड गराएको उनले बताए ।
गायकको पनि परिचय
सुरुआतमै रेकर्ड गरेको उक्त गीतले अत्यन्तै रुचाइएको र गायकको पनि परिचय बनाएको खड्काले बताए । त्यस गीतको माया र सफलता पाएपछि उनले ‘ए परदेशी’ बोलको गीत गायिका विष्णु माझीसँग स्वर भरेर गोरखा चौतारी म्युजिकबाट सार्वजनिक गरेको उनले बताए । ‘ए परदेशी’ बोलको गीतले पनि धेरै दर्शक स्रोताको माया पाएपछि उक्त गीतलाई भाग ७ सम्म रेकर्ड र म्युजिक भिडियो बनाएर निरन्तर प्रस्तुत गरेका खड्का बताउँछन् ।
सांगीतिक यात्राको सुरुआतबाट नै सफलताक पाएका खड्काले त्यसपछि काठमाडौँमा बसेर काम गर्न सहज भएको बताए । केही छोटो समय अनुराग संगीत पाठशालामा अनौपचारिक रूपमै संगीत क्लाससमेत लिएका खड्का त्यसपछि निरन्तर संगीत कर्ममै अडिएको बताउँछन् । विशेष त गायकभन्दा पनि एक संगीतकारको रूपमा धेरैले आफूलाई चिन्ने गरेको उनले जिकिर गरे ।
आफूले हालसम्म शब्द, संगीत, स्वर र म्युजिक भिडियोमा अभिनय गरेर २०० भन्दा बढी गीतहरू ल्याइसकेको खड्काले बताए । ‘निरिमयाको,’ ‘दाँते ओखर,’ ‘कुन मन्दिर धाऊँ,’ ‘मन परेको भेना,’ ‘सुन सबैले सुन,’ ‘पत्थरको मुटु’, ‘क्यारी जिउने हो’ लगायतका गीत सर्वाधिक दर्शक श्रोताले रुचाएका र राम्रो युटुब भ्युज पाउन सफल गीतहरू भएको उनले बताए । आफ्नै संगीत रहेको गीत ‘क्यारी जिउने हो’ र भाग्य लेख्ने भगवान् नामका २ गीत युट्युबको ट्रेन्डिङमै परेको उनको भनाइ छ ।
आफ्नो मिहिनेतको फलस्वरूप हालसम्म दर्जन अवार्ड तथा सम्मान प्राप्त गर्न सफल भएको खड्काले बताए । इपिक म्युजिक अवार्ड २०७५, नेपाल म्युजिक अवार्ड २०७५, नेसनल फेस्टिबल म्युजिक अवार्ड २०७६, विन्ध्यवासिनी म्युजिक अवार्ड २०७८, राप्ती म्युजिक अवार्ड २०७९, सगरमाथा म्युजिक अवार्ड २०८०, साधना म्युजिक अवार्ड २०७६, जिनियस म्युजिक अवार्ड, नेसनल ब्रान्ड म्युजिक अवार्ड, पावर नेसनल म्युजिक अवार्ड लगायतका अवार्ड कार्यक्रम बाट उनले शब्द, संगीत र स्वर सबै विधामा अवार्ड प्राप्त गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया