चितवन । गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमंगलामा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार स्थानीय जंगलबाट गैँडा बस्तीमा प्रवेश गरेपछि घटना भएको हो ।
मृत्यु हुनेमा रत्ननगर–१६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापा रहेकी छन् । दिउँसो पौने २ बजे गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । गैँडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा मृतक थापाका श्रीमान् ७८ वर्षका डम्बरबहादुर थापा, रत्ननगर–१२ का ७२ वर्षका चेतनाथ चौलागाई, वडा नं १२ कै ३९ वर्षीया सीता पोखरेल, २५ वर्षीया पुजन विक र रत्ननगर–१४ की ६० वर्षीया मीना गुरूङ रहेका छन् । घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया