काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौंले जितका लागि दिएको १०४ रनको झिनो विजयी लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा दुई चौका प्रहार गरे ।
त्यसैगरी, उन्मुक्त चन्दले १९ बलमा १३ रन बनाउँदा सूर्य तामाङ ११ रन जोड्दै अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान रोहित पौडेल आठ, टम मुर्स छ तथा ओपनर आशुतोष घिरैया चार रनमा आउट भए ।
काठमाडौंका लागि कप्तान करण केसीले चार विकेट लिए भने दीपेश कँडेलले तीन विकेट लिए । त्यस्तै, जेहार्ड एरास्मसले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा १०३ तीन रनको योगफल बनाएको थियो ।
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा एक चौका प्रहार गरेका थिए । त्यस्तै, ड्यान ड्वाथवेटले २१ रन बनाएर आउट भए । प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिए भने अभिषेस गौतम र रेमन सिमण्डसले समान दुई–दुई विकेट लिए । त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिए ।
पराजित लुम्बिनीको ६ खेलमा पाँचमा हार र एकमा जितसहित दुई अंक छ । यस हारसँगै लुम्बिनी लिग चरणको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । लुम्बिनी यसअघि विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
हिजो भएको खेलमा भने लुम्बनीले चितवनलाई पराजित गरेको थियो । चार खेलमा दुईमा हार र दुईमा जितका साथ काठमाडौं तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यो खेलमा जितसँगै काठमाडौं प्लेअफ सम्भावना कायमै छ । उक्त प्रतियोगितअन्तर्गत भोलि बिहीबार दुई खेल हुनेछ ।
जसमा बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ भने १ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया