काठमाडौँ । अलराउन्डर विलियम बासिस्टोले ६ विकेट लिएर कीर्तिमान कायम गर्दा नेपाल प्रिमियर लिग (एनपिएल) को मंगलबार भएको खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्समाथि ७ विकेटको जित हात पारेको छ । ५ खेलमा कर्णालीको यो तेस्रो जित हो । पोखरा भने ४ मध्ये ३ खेलमा पराजित भइसकेको छ ।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । कर्णालीको जितमा गुल्सन झाले अविजित ४९ रन जोडे । १ रनले अर्धशतकबाट विमुख भएका उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।
कर्णालीका प्रारम्भिक ब्याट्सम्यान भने असफल रहे । देव खनाल शून्य र बाबर हायत ७ रनमा आउट भए । देवलाई विपिन खत्रीले एलबिडब्लूको धरापमा परे । बाबरलाई सागर ढकालले बोल्ड गरे । चाडविक वाल्टनले ३४ बलमा ४२ रन जोडे ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरालाई कर्णालीले अस्ट्रेलियन अलराउन्डर विलियम बासिस्टो एक्लैले ६ विकेट लिएपछि १६ दशमलव ४ ओभरमै अलआउट गर्न सफल भयो ।
अस्ट्रेलियाको यू–१९ टोलीका पूर्वकप्तान बासिस्टोले ४ ओभरमा २८ रन खर्चिए । बासिस्टो जारी एनपिएलको एकै पारीमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । उनले १४औँ ओभरमा ३ विकेट लिएका थिए । सो ओभरमा उनले दिलीप नाथलाई ३ रन, माइकल लिस्कलाई २ रन र नारायण जोशीलाई १ रनमा आउट गरे । नाथलाई क्याच गराएका उनले लिस्कलाई बोल्ड र नारायणलाई एलबिडब्लूको धरापमा आउट गरे ।
१६औँ ओभरमा उनले रेमन्ड राइफरलाई २० रनमा आउट गरेका थिए । त्यसअघि उनले कुशल भुर्तेललाई १०औँ ओभरमा १० रन र १२औँ ओभरमा माट क्रिचलीलाई शून्यमा बोल्ड गरे ।
पोखराका प्रारम्भिक ब्याट्सम्यान दिनेश खरेलले १९ बलमा २६ रन र आन्द्रेस गौसले १२ बलमा २५ रन जोडे । खरेललाई युनिस ठकुरीले छैटौँ ओभरमा बोल्ड गर्दा विपिन शर्माले गौसलाई चौथो ओभरमा बासिस्टोबाट क्याच गराए । खरेल र गौसबीच ४६ रनको साझेदारी हुनुबाहेक पोखराको पारी कुनै बेला पनि सम्हालिन सकेन । बासिस्टोले ६ विकेट लिँदा विपिन, युनिस र कप्तान सोमपाल कामीले १–१ विकेट लिए ।
लुम्बिनीको पहिलो जित
एनपिएलमा लुम्बिनी लायन्सले कप्तान रोहितकुमार पौडेलको अलराउन्डर प्रदर्शनमा पहिलो जित हात पारेको छ । यसअघिका ४ खेलमा पराजित भएको लुम्बिनीले पाँचौँ खेलमा पहिलो सफलता पाएको हो । लुम्बिनीले मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो । प्रतियोगितामा चितनवले भने ५ खेलमा दोस्रो हार बेहोरेको छ ।
लुम्बिनीले दिएको १६८ रन पछ्याएको चितवनले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो । चितवनलाई रोक्ने क्रममा लुम्बिनीका कप्तान पौडेलले ४ विकेट लिए । उनले चितवनका विपिन रावललाई ५ रन, सोहिल तनबिरलाई १ रन, रवी बोपारालाई १२ रन र जान लोफ्टी इटनलाई ६ रनमा आउट गरे । लोफ्टी इटनलाई १४औँ ओभरमा एलबिडब्लूको धरापमा पार्नुअघि रोहितले अरू ब्याटरलाई क्याच गराए ।
चितनवका लागि ३१ रन जोडेका लुक बेन्केस्टाइनलाई अभिशेष गौतमले आउट गरे । २९ बलमा ३ चौका र १ छक्का प्रहार गरेका उनलाई गौतमले उन्मुक्त चन्दबाट क्याच गराएका हुन् ।
चितनवका कप्तान कुशल मल्ल पनि २० रनमा आउट भएपछि लुम्बिनी पहिलो जित नजिक पुगेको थियो । कुशललाई साद बिन जफरले अभिशेषबाट १७औँ ओभरमा क्याच गराए । त्यसअघि रेमन्ड सिमन्सले ओपनर सन्तोष कार्की र अमरसिंह रटेउलालाई १० र ८ रनमा आउट गरका थिए । रिजन ढकाल १५ रन र नरबहादुर सार्की २२ रनमा नटआउट रहे ।
बलिङमा रोहितले ४ विकेट लिँदा १७ रन मात्र दिए । रेमन्ड सिमन्सले २ विकेट लिए । साद बिन जफर र अभिशेष गौतमले १–१ विकेट लिन सफल भए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेल र साद बिन जफरले अर्धशतक प्रहार गरे । अन्तिम ओभरको तेस्रो बलमा चितवनका रिजन ढकालको बलमा क्याच हुनुअघि रोहितले ८० रन जोडे । रोहितले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।
उनले साद बिन जफरसँग पाँचौँ विकेटका लागि ११४ रनको साझेदारी गरे । जफरले पनि अर्धशतक प्रहार गरे । उनले ३५ बलमा ५२ रन जोडे । त्यसका लागि जफरले ४ चौका र १ छक्का प्रहार गरे । अनी अन्तिम बलमा रनआउट भए ।
खेलमा रोहितले ४ पटक जीवनदान पाएका थिए । उनको क्याच लिन चितवनका बलर पटक–पटक चुकेका थिए । जारी एनपिएलमा रोहित सर्वाधिक रन प्रहार गर्ने ब्याटरको शीर्ष स्थानमा छन् । उनले ५ खेलमा २ अर्धशतकसहित २६१ रन जोडेका छन् ।
यसैगरी लुम्बिनीले राम्रो सुरुआत भने गर्न सकेन । ओपनर आशुतोष घिरैयालाई दोस्रो ओभरमा चितवनका दायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले १ रनमै बोल्ड गरे । २ बलपछि उन्मुक्त चन्दलाई रिजनले विपिन रावलबाट क्याच गराए ।
प्रारम्भिक ब्याट्सम्यान अर्जनु साउदले १५ रन बनाए । १२ बलमा १ चौका र १ छक्का प्रहार गरेका साउदलाई रन्जित कुमारले कप्तान कुशल मल्लबाट सातौं ओभरमा क्याच गराए । अर्को ओभरमा टम मुर्स १० रन जोडेर आउट भए । बलिङमा चितवनका रिजन ढकालले ३ विकेट लिए । उनले ४ ओभरमा २९ रन दिए ।
प्रतिक्रिया