काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै जित हात पारेको छ । टस जितेर पहिला ब्याटिङ गर्दै पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
आजको जितसँगै कर्णाली याक्सको यो तेस्रो जित हो । कर्णालीका लागि गुलशन झाले नट आउट रहँदै ४९ रन जोडे । उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए । २२ बलमा ८ रन मात्र जोडेका गुलशनले २३औँ बलमा पहिलो बाउन्ड्रि प्रहार गरे थिए । उनले पछिल्लो १५ बलमा ४१ रन जोडेका थिए ।
चाडविक वाल्टनले ३४ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए । कर्णालीले पहिलो विकेटका रुपमा देव खनाललाई गुमाएको थियो । रनको खाता नखोल्दै विपिन खत्रीको बलमा देव बोल्ड आउट भएका थिए ।
पोखराका लागि विपिन खत्री, सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान १ विकेट लिए । मंगलबार कीर्तिपुरस्थित टियु मैदानमा दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रन बनाउँदै अल आउट भएको थियो । पोखराका दिनेश खरेलले १९ बलमा २६ रन जोडे ।
दोस्रो ओभरको तेस्रो बलमा पोखराका ओपनर दिनेशले जीवनदान पाए । युवा बलर विपिन शर्माको बलमा युनिश विक्रम सिंह ठकुरीले उनको क्याच मिस गरेका थिए । त्यो समय उनले ६ बलमा ९ रन बनाएका थिए । युनिशकै बलमा दिनेश छैठौँ ओभरको तेस्रो बलमा आउट भए ।
अघिल्लो खेलमा लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका पोखराका ओपनर आन्द्रेस गौसले यो खेलमा १२ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । गौस विपिन शर्माको बलमा विलियम बोसिस्टोबाट क्याच आउट भए । कर्णालीका विलियम बोसिस्टोको घातक बलिङमा पोखराको एक्लैले ६ विकेट लिएका थिए ।
१४औँ ओभरको पहिलो बलमा विलियम बोसिस्टोले दिलिप नाथलाई आउट गराए । त्यसपछिको दोस्रो बलमा माइकल लिस्क बोल्ड आउट भए । त्यही ओभरको अन्तिम बलमा नारायण जोशीलाई एलबिडब्लु धरापमा पार्दै पाँच विकेट पूरा गरे ।
एनपिएलको एकै इनिङमा ६ विकेट पूरा गर्ने बोसिस्टो पहिलो खेलाडी हुन् । यसअघि नरेन साउद, सोहेल तन्भिर र हर्ष ठाकरले एकै इनिङमा ५ विकेट पूरा गरेका थिए ।
एनपिएलमा खराब लयबाट गुज्रिरहेका कुशल भुर्तेल १० बलमा १० रन बनाएर आउट भए । कुशलले ४ खेलमा मात्र १६ रन बनाएका छन् । एक समय ७४ रनमा २ विकेट गुमाएर बलियो स्थितिमा रहेको पोखराले २९ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो ।
कर्णालीका लागि विलियम बोसिस्टोले ४ ओभरमा २८ रन खर्चिएर ६ विकेट लिए । सोमपाल कामी, युनिश तथा विपिन शर्माले समान १ विकेट लिए । जितसँगै कर्णालीको ५ खेलमा ६ अंक भएको छ । पराजित पोखराको ४ खेलबाट २ अंक छ ।
प्रतिक्रिया