काठमाडौँ । विगत १३ वर्षदेखि चरम गृहयुद्धको सामना गरिरहेको मुलुक सिरियामा ५३ बर्से असद वंशको शासन ढलेको छ । कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कस कब्जा गरेको छ भने सिरयाली राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । यद्यपि उनी कहाँ छन् भन्ने खुल्न सकेको छैन । उनी चढेको भनेको जहाजसमेत राडारको सम्पर्कमा नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सिरियाली प्रधानमन्त्रीले पनि राष्ट्रपति असद कहाँ छन् भन्नेबारेमा केही थाहा नभएको बताएका छन् । उनको सम्भाव्य भाग्ने ठाउँमा युएई हुन सक्ने जनाइएको छ । युएई, जोर्डन र कतारले मध्यपूर्वमा शान्तिको प्रयास गरेका कारण सो स्थानमा उनले आफूलाई सुरक्षित महसुस गर्न सक्ने जनाइएको छ ।
दमास्कस कब्जा गरेपछि विद्रोहीहरूले सिरियामा ५ दशक लामो असद शासनको अन्त्य भएको घोषणा गरेका हुन् । सिरियामा विगत १३ वर्षदेखि जारी गृहयुद्धका क्रममा ५ लाखभन्दा बढीको ज्यान गइसकेको छ भने १ करोड २० लाखले घरबार छाडेका थिए । सन् २०११ मा भएको भीषण गृहयुद्धले पनि ढाल्न नसकेको असद शासन यस पटक भने ढलेको हो । गत साताको बुधबारदेखि हायात ताहिर अल साम (एचटिएस) ले देशका मुख्य सहरहरू कब्जा गर्न सुरु गरेको थियो भने अन्त्यमा राजधानी दमास्कस कब्जा गरेको हो ।
यसअघि सिरियाको मूल सहर रुस र इरानको सहयोग रहेको सत्तारुढ सेनाको नियन्त्रणमा थियो । आइतबार दमास्कस पुगेको २ घन्टामै विद्रोहीहरूले राष्ट्रपति भागेको र आफूहरूले सत्ता कब्जा गरेको घोषणा गरेका थिए । राष्ट्रपति असद भागेसँगै सिरियाली नागरिकले पूर्वराष्ट्रपति हाफेजको मूर्ति ढालेर कुल्चिँदै विजयोत्सव मनाएका छन् । दमास्कसको जारामाना उपत्यकामा प्रदर्शनकारीहरूले हाफेजको मूर्ति ढाल्दा नागरिकले हर्षले ताली बजाउँदै नारा लगाएका थिए ।
५४ बर्षे वंशीय शासनको अन्त्य
सिरियामा असद परिवारको ५४ बर्से इतिहास असदको पलायनसँगै समाप्ति भएको छ । सन् १९७० देखि सिरियाको सत्तामा कब्जा गरेको असद परिवार अन्ततः २०२४ मा समाप्त भएको छ । १९७० मा तत्कालीन वायुसेनाका अधिकृत बसरका बुबा हाफेज असदले सिरियाको सत्ता कब्जा गरेका थिए ।
उनको कार्यकालमा सिरियाले कैयौँ विद्रोह र राजनीतिक उथलपुथलको सामना गर्यो । तर, आफूअनुकूल सेना र गुप्तचरको प्रयोग गर्दै हाफेजले आफ्नो सत्ता जोगाएका थिए । सन् १९८२ मा हामा सहरमा आफूविरुद्धको विद्रोह दबाउन उनले सेनाको प्रयोग गरी करिब २० हजार नागरिकको हत्या गराएको घटनाले पनि उनको क्रूरता झल्किन्छ ।
३० वर्ष सिरियामा शासन गरेपछि सन् २००० मा हाफेजको मृत्यु भयो । हाफिजको मृत्युपछि त्यहाँ सत्ता बसरले सम्हालेका थिए । बसरलाई सत्तामा ल्याउनकै लागि उमेर हदसम्बन्धी व्यवस्था परिवर्तन गर्न जनमत संग्रहमार्फत् संविधान नै परिवर्तन गरिएको थियो ।
सत्ता सम्हालेको सुरुआती दिनमा आफूलाई फरक राजनेताका रूपमा देखाउने प्रयास गरेपनि पछि उनी क्रूरतातिरै लागे । तर, सिरियाको व्यापार र आर्थिक क्षेत्रका लागि निकै सुधारात्मक प्रयास गरेका उनले देशको राजनीतिक र लोकतान्त्रिक पक्षमा भने काम गर्न सकेनन् ।
सन् २०११ देखि शान्तिपूर्ण विरोध प्रदर्शनबाट सुरु भएको लोकतान्त्रिक आन्दोलनमाथि दमन गर्दै देशलाई नै गृहयुद्धमा धकेले । असद सरकारले गरेको विरोध प्रदर्शनको दमन शताब्दीको सबैभन्दा रक्तपातपूर्ण युद्धमा परिणत भएको थियो । जसको परिणाम असदले आफ्नो शासनकालमा एक क्रूर तानाशाहको छवि बनाए । र, अन्तमा ५ लाखभन्दा बढी नागरिकको मृत्यु, करिब १ लाख बेपत्ता र १ करोड २० लाखको विस्थापतिसँगै उनी र उनको पारिवारिक विरासत ढलेको छ ।
प्रतिक्रिया