एनपिएल : काठमाडौं गुर्खाजले चितवन राइनोजलाई दियो ११२ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजसामु जितका लागि एक सय १२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै १११ रन बनायो । काठमाडौंका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोडे ।

त्यस्तै माइकल लेभिटले १६ बलमा चार चौका र एक छक्का हान्दै २५ रन बनाए । डान डाउथवेटले अविजित १९ र शंकर रानाले १६ रन बनाए । बलिङतर्फ चितवन राइनोजका लागि सोहेल तन्भिर एक्लैले पाँच विकेट लिए ।

उनले चार ओभरमा २१ रन खर्चिए । यस्तै रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टाइनले एक एक विकेट लिए । अहिले चितवनले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया