काठमाडौँ । फुल कन्ट्याक्ट मार्सल आर्टिस्ट अनुप थापा अमेरिकामा रहेर पनि प्रतिभा प्रस्फुटित गराउने सोचमा छन् । कुनै समय नेपाली खेलकुदमा सेमी कन्ट्याक्ट मार्सल आर्टमा भविष्य खोजिरहेका उनी आर्थिक अभावका कारण जापान पुगेका थिए । जापानमै रहेर उनले मार्सल आर्टका २ विधा मुवाथाई र किक बक्सिङमा अनेक सफलता पाएका हुन् ।
सन् २०१६ मा जापान पुगेका अनुप थापाले सन् २०२२ मा भएको शुक वानकिङथाङ मुवाथाई एमच्योर प्र्रतियोगितामा स्वर्ण पदक जितेका थिए । ६१ किलो तौल समूहका उनले फाइनलमा शुवाबे खाइलाई पराजित गरेका हुन् । जापान पुगेको ५ वर्षपछि उनले मुवाथाई किक बक्सिङमा लगातार प्रतिस्पर्धाका अवसर पाएका हुन् । उनले ६१ किलोमा सफलता पाए पनि ५७ किलोभन्दा पनि कम तौल समूहमा थिए ।
सन् २०२२ मै भएको शुक वानकिथङाङ मुवाथाई एमेच्योर प्रतियोगिताको ५७ केजी तौलमा सिमिजु ताचुतोलाई पराजित गरी अनुपले स्वर्ण पदक जितेका थिए । त्यसपछि नै अनुपको चर्चा नेपाली समुदायमा भएको थियो । सन् २०२२ फेब्रुअरी २२ मा गोल्ड्स जिम साउत टोकियोेमा पनि उनले स्वर्ण पदक जिते ।
१९ फेब्रुअरी २०२३ मा उनले शुक वानकिङथाङ मुवाथाई जापान नेसनल टाइटल च्याम्पियनसिपमा पनि स्वर्ण पदक प्राप्त गरे । सोही वर्षको ६ अगस्टमा वल्र्ड मुवाथाई काउन्सिल (डब्लुएमसी) को बिओएम–४३ जापान प्रोफेसनल मुवाथाई इभेन्ट योकोहामाको ओसानबासी हलमा अनुपले नेपालको तर्फबाट जित हात पारेका थिए । यो क्रम सन् २०२४ सम्म कायम रहेको थियो । त्यस वर्षको ९ जुनमा बिओएम–४६ प्रो.मुवाथाईमा नेपालको प्रतिनिधित्व गरेका थिए । यसैक्रममा सन् २०२५ मा हुने वान च्याम्पियनसिपमा सहभागिताको तयारी गरेका छन् ।
सन् २०२४ अक्टोबर २७ डब्लुएमएसी इन्टरनेसनल ब्याटल अफ डेटोनामा ओरिएन्टल बक्सिङ लाइट वेटमा स्वर्ण जितेका उनले लाइट कन्ट्याक्ट र एमएमए लाइट, ओपन क्लासमा रजत तथा किक लाइटमा कांस्य जिते । नेपालमा रहँदा भने अनुप तेक्वान्दोका खेलाडी थिए । जापान पुगेपछि उनले मुवाथाइमा व्यावसायिक सम्भावना देखेर यस खेलमा आफूलाई निखारेका हुन् । अहिले पनि उनको चाहना मार्सल आर्टमा नै सक्रिय रहने हो । खेल क्षेत्रको विकास र खेल प्रतिभाको खोजीका लागि नियमित प्रतियोगिता आयोजना गर्नुपर्ने थापाको सुझाव छ ।
प्रतिक्रिया