एनपीएलको उद्घाटन खेलमा विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्टसको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किङ्सलाई ८ विकेटले हराएको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन जोडे । उनले तेस्रो विकेटका लागि हर्ष थक्करसँग मिलेर शतकीय अविजित साझेदारी गरे । मिलन्थाले ५३ बलमा ७५ रन प्रहार गरेका हुन् । १५ रनलाई २ विकेट गुमाएको जनकपुरको ब्याटिङ लाहिरु र हर्षले सम्हालेका थिए । बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो । विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडेका थिए । अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

विराटनगरलाई सस्तोमा समेट्न बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिएका । हर्ष थक्कर र किशोर महतोले दुई–दुई र मोहमद मोहसिन र माइकले एकएक विकेट लिएका छन् । एनपिएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन ।

सोमबार दुई खेल हुनेछन् । सोमबार हुने पहिलो खेलमा काठमाडौं गुखार्ज र चितवन राइनोज, दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान सवा ९ र दोस्रो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

प्रतिक्रिया