६ जना कमेन्टेटर पनि विदेशी
नेपालको फ्रेन्चाइजमा सहभागी हुने ४ दर्जन विदेशी खेलाडीमा भारतका शिखर धवनदेखि पकिस्तानका तनवीर र अस्ट्रेलियाका बेन कटिङसम्म छन् । भारतीय राष्ट्रिय टोलीका पूर्व प्रारम्भिक ब्याट्सम्यान धवन कर्णाली याक्समा आवद्ध छन् ।
काठमाडौँ । नेपालको बहुप्रतिक्षित फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपिएल) आज शनिबारदेखि कीर्तिपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ । २० दिनसम्म चल्ने यो प्रतियोगितामा ८ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । एनपिएलका लागि ८ वटै टोलीले विदेशी खेलाडी पनि अनुबन्ध गरेका छन् । प्रत्येक टोलीमा अधिकतम ६ खेलाडी राख्न पाउने व्यवस्थाअनुसार करिब ४ दर्जन विदेशी खेलाडी यस आइपिएलमा सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेल शनिबार सवा १२ बजे विराटनगर किङ्स र जनकपुर बोल्ट्सका बीच त्रिभवुन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
नेपालको फ्रेन्चाइजमा सहभागी हुने ४ दर्जन विदेशी खेलाडीमा भारतका शिखर धवनदेखि पकिस्तानका तनवीर र अस्ट्रेलियाका बेन कटिङसम्म छन् । भारतीय राष्ट्रिय टोलीका पूर्व प्रारम्भिक ब्याट्सम्यान धवन कर्णाली याक्समा आवद्ध छन् ।
एनपिएलमा सहभागी हुने खेलाडीमा आइसिसीका पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज, इंग्ल्यान्ड, अफगानिस्तान, बंगलादेश र अस्ट्रेलियाका खेलाडी छन् । यी बाहेक हङकङ, अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, क्यानडा, नामिबिया, र युएईका खेलाडीको पनि यो खेलमा सहभागिता छ ।
एनपिएलमा ८ वटा टोली समावेश छन् । कोसी प्रदेशबाट विराटनगर किंग्स, मधेसबाट जनकपुर बोल्ट्स सहभागी छन् । बागमती प्रदेशबाट काठमाडौँ गुर्खाज र चितवन राइनोज २ टोली सहभागी छन् । गण्डकी प्रदेशबाट पोखरा एभेन्जर्स र लुम्बिनीबाट लुम्बिनी लायन्स एनपिएलमा सहभागी छन् । कर्णाली प्रदेशबाट कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिमको प्रतिनिधित्व गर्नेछ ।
शिखर धवन कर्णाली याक्समा आवद्ध छन् । सन्दीप लामीछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा रहेका न्युजिल्यान्डमा मार्टिन गुप्तिल सबैभन्दा नाम चलेका खेलाडी हुन् । यसैगरी अफगानिस्तानका इस्मल आलम पनि विराटनगरको टोलीमा छन् ।
राष्ट्रिय टिमका विकेट किपर ओपनर आसिफ शेख मार्की रहेको जनकपुर बोल्ट्समा न्युजिल्यान्डका जिमी निसम छन् । निसम सन् २०१९ मा न्युजिल्यान्डलाई विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडी हुन् । फाइनलमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
कुशल मल्ल मार्की रहेको चितवन राइनोज बागमती प्रदेशमा इंग्ल्यान्डका रवी बोपारा र अफगानिस्तानका हसन इसाखिललगायत नाम चलेका खेलाडी छन् । रवि वोपरा सन् २००० को दशकमा तल्लो क्रममा ब्याट्सम्यान तथा पार्टटाइम बलर हुन् । सोही टोलीबाट सहभागिता जनाउन सोहल तनवीर पनि काठमाडौँ आइपुगेका छन् । उनले राजस्थान रोयल्सलाई पहिलो संस्करणको आइपिएल दिलाएका थिए । यसै गरी पहिलो टी–२० विश्वकपमा पाकिस्तान दोस्रो संस्करणको विजेता तथा पहिलो संस्करणको उपविजेता हुँदा तनवीर टोलीका महत्वपूर्ण सदस्य थिए ।
काठमाडौँ गुर्खाजका मार्की खेलाडी करण केसी हुन् । सो टोलीमा रहेका विदेशी खेलाडीमा इंग्ल्यान्डका ड्यान डौथवेट प्रमुख हुन् । उनी पनि तल्लो क्रमका ब्याट्सम्यान हुन् ।
त्यसैगरी कुशल भुर्तेल पोखरा एभेन्जर्सका मार्की खेलाडी हुन् । सो टोलीमा इंग्ल्यान्डका म्याट क्रिचली प्रमुख खेलाडीको रूपमा रहेका छन् । लुम्बिनी लायन्स नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको टोली हो । लुम्बिनी लायन्समा अस्ट्रेलियाका तल्लो क्रमका पावर हिटर ब्याट्सम्यान तथा पार्ट टाइम बलर बेन कटिङ छन् । उनको फ्रेन्चाइजमा सबैभन्दा महत्वपूर्ण अनुभव भनेको सनराइजर्स हैदरावादलाई सन् २०१६ को आइपिएल उपाधि दिलाउनु हो ।
एनपिएलका ८ वटा टिममध्ये सबैभन्दा धेरै प्रचारप्रसार गरिरहेको टिम कर्णाली याक्स हो । फास्ट बलर सोमपाल कामी मार्की रहेको कर्णाली याक्समा नै भारतका शिखर धवन आवद्ध छन् । यसैगरी नेपाली खेलाडीसँग धेरैपटक मुकाविला गरेका हङकङका बाबर हायत तथा वेस्ट इन्डिजका चाडविक वाल्टन पनि सोही टोलीमा छन् ।
सुदूरपश्चिम रोयल्स अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की रहेको टोली हो । सो टोलीमा धेरैजसो सुदूरपश्चिमकै खेलाडीको बाहुल्यता छ । सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इग्ल्यान्डका सेफ अलि जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्तफा छन् । एनपिएलमा सहभागी ८ टिम मध्ये ७ वटाले मार्की खेलाडीलाई क्याप्टेन बनाएका छन् तर जनकपुर बोल्ट्समा भने मार्की आशिफ शेख र क्याप्टेन अनिल साह छन् ।
२ दिनअघि नै सकियो टिकट
शनिबारको उद्घाटन खेलको टिकट २ दिनअघि नै बिक्री भइसकेको आयोजकले जनाएको छ । सामान्यतर्फ ३०० र भिआइपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको छ । लिग चरणका अन्य खेलहरू हेर्न भने समर्थकले सामान्यतर्फ ३०० र भिआइपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य तिर्नुपर्नेछ । यस्तै, प्रतियोगिताको प्लेअफ खेलका दौरान सामान्यतर्फ ५०० र भिआइपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य तोकिएको छ । प्रतियोगिताको फाइनलका निम्ति भने सामान्यतर्फ ५०० रुपैयाँ नै रहँदा भिआइपितर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ ।
क्यानले प्रतियोगिताका निम्ति सिजनल पासको समेत व्यवस्था गरेको छ । पूरा सिजनका लागि टिकट किन्दा २० प्रतिशत छुटको व्यवस्था छ । सिजनका लागि पास लिनुपर्दा साधारणतर्फ ४ हजार ४८० र भिआइपीतर्फ ८ हजार २४० रुपैयाँ तोकिएको छ । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदान १० हजार दर्शक क्षमताको छ ।
प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समा
पहिलो संस्करणको एनपिएलको प्रत्यक्ष प्रसारणको अनुमति भारतीय टेलिभिजन स्टार स्पोर्ट्स नेटवर्क र युट्युबमा एक्सन स्पोर्ट्स एचडीले पाएको छ ।
यो लिगका लागि ६ विदेशी कमेन्टेटर पनि भित्र्याइएको छ । क्यानले बुधबार नेपाल प्रिमियर लिगको अफिसियल पेजमार्फत ६ विदेशी कमेन्टेटरको नाम सार्वजनिक गरेको छ । अमेरिकाका एन्ड्रयु लेनर्ड नेपाल क्रिकेटका चर्चित कमेन्टेटर हुन् । उनले नेपालका अधिकांश खेलहरूमा कमेन्ट्री गर्दै आएका छन् । एन्ड्रयुसहित एचडी अकरम्यान, ड्यारेन गौफ, श्रीधरण श्रीराम, मोनाली पटेल र मिखाइल वासवानीलाई क्यानले कमेन्ट्रीका लागि ल्याएको हो ।
अकरम्यान दक्षिण अफ्रिकाका पूर्वक्रिकेट खेलाडी हुन् । उनले दक्षिण अफ्रिकाबाट सन् १९९८ मा टेस्ट क्रिकेट खेलेका थिए । अकरम्यानले क्रिकेट करियरपछि कमेन्टेटरको रूपमा काम गरिरहेका छन् । ड्यारेन इंग्ल्यान्डका पूर्वक्रिकेटर हुन् । उनले इंग्ल्यान्डबाट टेस्ट, ओडिआई र ‘टी–२० आई’ खेल खेलेका छन् । उनले १५९ ओडिआइमा २३५ विकेट लिएका छन् ।
भारतका श्रीधरणले पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले सन् २००० देखि २००४ सम्म भारतबाट खेलेका थिए । मोनाली क्यानडाकी पूर्वक्रिकेटर हुन् । उनले सन् २०१९ मा क्यानडाबाट २ ‘टी–२०आई’ खेल खेलेकी थिइन् । मिखाइल भारतका पत्रकार तथा कमेन्टेटर हुन् ।
खेल तालिका
मंसिर १५ गते– १२ः१५ बजे – विराटनगर भर्सेस जनकपुर
मंसिर १७ गते – ९ः१५ बजे – काठमाडौँ भर्सेस चितवन
मंसिर १७ गते – १ः१५ बजे – जनकपुर भर्सेस कर्णाली
मंसिर १८ गते – ९ः१५ बजे – सुदूरपश्चिम भर्सेस विराटनगर
मंसिर १८ गते – १ः१५ बजे – चितवन भर्सेस पोखरा
मंसिर १९ गते – ९ः१५ बजे – कर्णाली भर्सेस काठमाडौं
मंसिर १९ गते – १ः१५ बजे – विराटनगर भर्सेस लुम्बिनी
मंसिर २० गते – ९ः१५ बजे – पोखरा भर्सेस जनकपुर
मंसिर २० गते – १ः१५ बजे – काठमाडौं भर्सेस सुदूरपश्चिम
मंसिर २१ गते – ९ः१५ बजे – कर्णाली भर्सेस चितवन
मंसिर २१ गते – १ः१५ बजे – लुम्बिनी भर्सेस पोखरा
मंसिर २२ गते – ९ः१५ बजे – लुम्बिनी भर्सेस सुदूरपश्चिम
मंसिर २२ गते – १ः१५ बजे – कर्णाली भर्सेस विराटनगर
मंसिर २३ गते – ९ः१५ बजे – जनकपुर भर्सेस लुम्बिनी
मंसिर २३ गते – १ः१५ बजे – सुदूरपश्चिम भर्सेस चितवन
मंसिर २५ गते – ९ः१५ बजे – चितवन भर्सेस लुम्बिनी
मंसिर २५ गते – १ः१५ बजे – कर्णाली भर्सेस पोखरा
मंसिर २६ गते – ९ः१५ बजे – जनकपुर भर्सेस सुदूरपश्चिम
मंसिर २६ गते – १ः१५ बजे – काठमाडौं भर्सेस लुम्बिनी
मंसिर २७ गते – ९ः१५ बजे – पोखरा भर्सेस विराटनगर
मंसिर २७ गते – १ः१५ बजे – काठमाडौं भर्सेस जनकपुर
मंसिर २८ गते – ९ः१५ बजे – लुम्बिनी भर्सेस कर्णाली
मंसिर २८ गते – १ः१५ बजे – विराटनगर भर्सेस चितवन
मंसिर २९ गते – ९ः१५ बजे – काठमाडौं भर्सेस पोखरा
मंसिर २९ गते – १ः१५ बजे – जनकपुर भर्सेस चितवन
मंसिर ३० गते – ९ः१५ बजे – काठमाडौं भर्सेस विराटनगर
मंसिर ३० गते – १ः१५ बजे – पोखरा भर्सेस सुदूरपश्चिम
पुस १ गते – ९ः१५ बजे – सुदूरपश्चिम भर्सेस कर्णाली
पुस ३ गते – ९ः१५ बजे – तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर)
पुस ३ गते – १ः१५ बजे – पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर)
पुस ४ गते – १२ः१५ बजे – एलिमिनेटर विजेता भर्सेस पहिलो क्वालिफायर पराजित (दोस्रो क्वालिफायर)
पुस ६ गते – १२ : १५ बजे – पहिलो क्वालिफायर विजेता भर्सेस दोस्रो क्वालिफायर विजेता (फाइनल)
प्रतिक्रिया